फोनिजले मुख्यमंत्रीलाई भन्यो  : प्रदेश तीनको नाम ताम्सालिङ नेपामण्डल राखौं

गुगलपाटी संवाददाता हेटौंडा,५ साउन
५ श्रावण २०७५ १३:४०

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश ३ ले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

फोनिज प्रदेश समितिद्वारा आयोजित सञ्चारसँग प्रदेश सरकार सम्बन्धित ऐन कानून र समावेशी सवाल बिषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा शुक्रबार हेटौंडामा प्रदेश ईन्चार्ज समीर बलामीले १७ बुँदे मागसहित मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा तामाङ र नेवार जातिको बाहुल्यता भएको प्रदेश भएकाले पहिचानसहितको प्रदेश नामाकरण गरि ताम्सालिङ नेपामण्डल राख्न अनुरोध गरिएको छ ।‘सरकारी विज्ञापनलाई समावेशी निती अपनाई सबैलाई समान रुपमा वितरण गर्ने र आदिवासी जनजातिमूलका भाषागत संचार माध्यमलाई विशेष प्रथामिकता दिन माग गर्दै आदिवासी जनजाति मूलका भाषागत संचार माध्यमलाई जोगाई राख्न आवश्यक सहकार्य तथा सहयोग गर्न समेत आग्रह गरिएको छ ।

‘एक वडा एक पत्रकारको रुपमा प्रदेश ३ लाई चिनाउन स्थानीय तहसँग मिलेर आधारभुत पत्रकारिता तालिमको व्यवस्था गर्ने र वडागत रुपमा सत्य तथ्य सुचना प्रशारण गर्ने गराउने व्यबस्था मिलाउन पनि ज्ञापनपत्र मार्फत् माग गरिएको छ ।प्रदेश ३ आदिवासी जनजातिहरुको बहुल्यता भएको प्रदेश भएको कारण प्रदेश भित्रका रेडियोहरुमा कम्तिमा १÷१ पटक तामाङ र नेवारी भाषामा समाचार प्रशारण गर्न प्रेरित गर्नुपर्ने भन्दै सरकारी तहमा वा कुनैपनि सरकारी कामकाजका लागि पत्रकार तथा प्रेस सल्लाहकारहरु नियुक्ती गर्दा आदिवासी जनजाति मूलका पत्रकारहरुलाई प्रथमिकता दिनुपर्ने माग गरिएको छ ।

‘प्रदेश भित्रका आदिवासी जनजातिहरुको कला, संस्कृति झल्कने धरोहरहरुको बचाऊ तथा संरक्षण र आदिवासी जनजातिको पहिचान भाषा, भेषभुषा, रितिरिवाज जोगाई राख्न अभियान तथा कार्यक्रम संचालन गर्नुपर्ने छ,’ विज्ञप्तीमा भनिएको छ, ‘चौमासिक, अर्धबार्षिक वा बार्षिक रुपमा प्रदेश सभा तथा प्रदेश सरकारसँग नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संवाद कार्यक्रम संचालनमा सहकार्य तथा सहयोग गर्न आग्रह गरिन्छ ।’आदिवासी जनजाति तथा अन्य पत्रकारहरुका लागि पुरस्कार तथा सम्मान, उपचारमा सहयोग, स्वास्थ्य विमा लगायतका कार्यक्रमहरुमा सहकार्य र सहयोग गर्नुपर्ने, प्रदेशको सबै जिल्ला र राजधानीमा आदिवासी जनजाति साँस्कृति संस्थानको स्थापना गरि सबै जाति र समुदायको कला, संस्कृति प्रदर्शन, प्रवद्र्धन र संरक्षण गर्दै आदिवासी जनजाति म्युजियम(संग्राहलय) स्थापना गर्न समेत माग गरिएको छ ।

फोनिज मकवानपुरले समन्वय गरेको कार्यक्रममा भुमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सांसदहरु कुमारी मोक्तान, जीवन डंगोल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतले समावेसी सिद्धान्तलाई कार्यान्वयन गर्दै आदिवासी जनजातिका भाषा, पहिरन, साँस्कृतिको संरक्षण र जगेर्ना गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।फोनिज प्रदेश ३ को शुक्रबार र शनिबार भएको भेला ७ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकिएको छ । भेलाले राज्यद्वारा उपेक्षित र औपचारिकतामा मात्र सिमित पारिएका आदिवासी जनजाति मातृभाषामा प्रकाशित पत्रपत्रिका र प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्न सरकारसँग माग गरेको छ । साथै आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी आदि समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । सरकारद्वारा पारित श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल प्रदान गर्न माग गर्दै श्रमको उचित सम्मान गर्न आग्रह गरिएको छ ।

प्रदेश सञ्चार कानून तथा नीति समावेशी र आमसञ्चारको प्रवद्र्धन र श्रमजिवी पत्रकारहरुको हितमा निर्माण गर्न प्रदेश सरकारसँग माग गर्दै भेलाले जनजाति बाहुल्य रहेको मकवानपुरको पछाडी परेको जनजाति समुदायको आवाजहरु बाहिर ल्याउन स्थानीय सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेको छ ।जनजाति बाहुल्य रहेको प्रदेश ३ को नामाकरण गर्दा नाम नेवा–ताम्सालिङ राख्न भेला माग गर्दै घोषणा पत्रमा सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्नुपर्ने समेत माग गरेको छ । सञ्चारमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको व्यवस्था गरी पूर्ण समावेशी संचार नीति लागु गर्नुपर्ने फोनिजको ठहर छ ।

मगरको उपचारका लागि रकम संकलन
बाग्लुङ्गमा जीप दुर्घटनामा गम्भीर घाइते भएका फोनिजका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको उपचारमा सहयोग पु¥याउने उद्देश्यले फोनिज ३ नम्बर प्रदेशले रकम संकलन गरेको छ । फोनिज प्रदेशमा आबद्ध सहभागीहरुले पत्रकार मगरको उपचारका लागि रकम संकलन गरी शनिबारै फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहभागी मकवानपुरसहित, धादिङ, रामेछाप, सिन्धुली, काठमाडौं, चितवन लगायत जिल्लाका प्रतिनिधिबाट संकलित २३ हजार ५ सय रुपैयाँ रकम फोनिजका प्रदेश ईन्चार्ज समीर बलामीले हस्तान्तरण गरेका थिए ।