कहाँ पुग्यो मन्त्रीको ‘निर्देशन’ ? हेटौंडाका सडकको अवस्था कन्तबिजोग
गुगलपाटी संवाददाता हेटौंडाभौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरका राजमार्गमा रहेका सबै खाल्डाखुल्डी बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको अनुमगनपछि चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुर्न निर्देशन दिइएको बताउनुभएको थियो । वैशाख १५ गतेभित्र सडक विभागअन्तर्गत् पर्ने सबै राजमार्गमा खाल्डाखुल्डी देखिए आफूलाई फोन गरेर जानकारी उहाँले अनुरोध गर्नुभएको थियो ।
मन्त्रीको निर्देशनविपरीत हेटौंडा बसामाडीस्थित महेन्द्र राजमार्गको सडकमा खाल्डाखुल्डी बढेपछि राजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा स्थानीय मर्कामा परेका छन् । विभिन्न कारणले सडकको खाल्डाखुल्डी थपिए पनि व्यस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु र सवारीचालक मर्कामा परेका हुन् ।
‘खाल्डाखुल्डीरहित राजमार्ग सम्भव छ र हुनुपर्छ, त्यसैले निर्देशन दिएको छु,’ मन्त्रीकै भनाइ स्मरण गर्दा उहाँले भन्नुभएको थियो–अब पनि राजमार्गमा सामान्य खाल्डाखुल्डी नपुर्ने सम्बन्धित निकायका कर्मचारीलाई कारबाही गर्छु । मन्त्री महासेठले खाल्डाखुल्डी भेटेको पाए सम्बन्धित निकायका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।
त्यहाँमात्र कहाँ हो र १ नेपालको सबभन्दा पुरानो त्रिभुवन राजमार्ग मर्मतसम्भार अभावमा जीर्ण बनेको छ । धादिङको नौबीसेबाट हेटौंडासम्म सडकखण्ड जीर्ण बनेको हो । मुग्लिन–नारायणघाट सडक निर्माणको क्रममा केही वर्षदेखि राजधानीबाट पूर्वी तराईका धेरैजसो स्थानमा जानका लागि वैकल्पिक सडकका रुपमा त्रिभुवन राजमार्ग प्रयोग हुँदै आएकाले अत्यधिक सवारी चापका कारण जीर्ण बनेको होे ।
उक्त सडकबाट दैनिक हजारौं सवारी आवतजावत गर्ने गर्दछन् । त्यसका कारण पनि राजमार्गमा जताततै खाल्डाखुल्डी परेका छन् । सडकको बीचमा ठूला खाल्डा परेका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ ।
सडक बिग्रिएका कारण घाम लाग्दा धुलाम्ये हुने र पानी पर्दा हिलाम्ये हुने गरेकाले आसपासका बासिन्दालाई समेत समस्या भएको छ । राजधानीलाई तराईसँग जोड्ने सबभन्दा पुरानो र छोटो सडकका रुपमा परिचित उक्त सडकको १ सय ७ किलोमिटर दुरी पार गर्न सवारीसाधनलाई ९ देखि १० घण्टासम्म लाग्ने गरेको छ ।
उक्त मार्गसँगै जोडिएका विद्यालयमा झ्याल थुनेरै पढाउनुपर्ने अवस्था आएको छ । यसबाट विद्यार्थीको पठनपाठनमै समस्या आएको छ । राजमार्ग आसपासबाट दिनहुँ उड्ने धुलोले कौसीमा रहेका बोटबिरुवा समेत छोपिएर मर्न थालेको स्थानीयको भनाइ छ । धुलोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई बढी सास्ती थपिएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।