दर्ताबिनै चलाएको भन्दै ६ जना शैक्षिक संस्थाका संचालक पक्राउ
गुगलपाटी संवाददाता हेटौंडा,९ साउनजिल्ला प्रहरी कार्यालयले मकवानपुरको हेटौँडामा प्रकृया पुरा नगरी संचालन भएको भन्दै ६ वटा शैक्षिक संस्थाका सञ्चालकहरुलाई पक्राउ गरेको बताएको छ ।
प्रहरीले हेटौँडा–४ मा अवस्थित जापानिज भाषा पढाउने ह्यान्ड्स् फर हेल्प एजुकेशन माईग्रेसन सेन्टरकाका संचालक हेटौडा–२ बस्ने बर्ष २९ को अरुण बर्तौलालाई र हेटौँडा ४ मै रहेको आएल्ट्स् पढाउने साई राईज हाई एजुकेसनका संचालक हेटौँडा–६ का २६ वर्षीय रुशन लुईटेललाई पक्राउ गरेको छ । उनीहरु दुबैले शिक्षा मन्त्रालयको स्विकृति समेत नलिई सेन्टर सञ्चालन गरेको बताइएको छ ।
त्यसरी नै हेटौँडा ४ बाट नै अंग्रेजी भाषा पढाउने नेक्स्ट प्वाईन्ट एजुकेशन कन्सल्टेन्सी का संचालक हेटौँडा ४ बस्ने बर्ष ३२ को केशवराज सेढाई, सोही स्थानमै अंग्रेजी भाषा तथा बिभिन्न बिषयको ट्युशन पढाउने सगरमाथा एकेडेमी फाउण्डेशन अफ एजुकेशन कन्सल्टेन्सीका संचालक प्रज्ञा कुमारी श्रेष्ठको श्रीमान बागमती गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष ३२ को दिपेन्द्र श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । नेक्स्ट प्वाईन्टले शिक्षा मन्त्रालयको स्विकृति नलिएको र सगरमाथाले शिक्षा मन्त्रालयबाट स्विकृति नलिनुका साथै ट्युशन सेन्टरको रुपमा सञ्चालित भएको र दर्ता गर्दा कन्सल्टेन्सी उल्लेख भएको प्रहरीले बताएको छ ।
हेटौँडा ४ मै रहेको जेनिथ फाउण्डेशनका संचालक हेटौँडा ५ बस्ने बर्ष २६ को दिपक घिमिरे र हेटौँडा १० मा रहेको ग्रेस हेटौँडा एजुकेशनल कन्सल्टेन्सीका संचालक हेटौँडा ५ बस्ने बर्ष ३८ को उत्तम अर्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । ती दुबै संस्थाले शिक्षा मन्त्रालयको स्विकृति नलिई संस्था चलाएको प्रहरीको दाबी छ । ती संचालकहरुले अबैध रुपमा शैक्षिक परामर्श, भाषा शिक्षा केन्द्र, ट्युसन तथा कोचिङ केन्द्रहरु खोली कार्य गरिरहेको र अध्ययन भिसामा पठाई बिभिन्न देशहरुमा राम्रो काम पाउने र राम्रो काममा लागईदिने भनी प्रलोभन दिएर युवा युवतीहरुलाई उच्च दर रेटमा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले दाबी गरेको छ ।
एजुकेशन सेन्टर तथा कन्सल्टेन्सीबाट विदेशमा जाने युवा युवतीहरु बिभिन्न देशहरुमा मानव बेचबिखन जोखिममा परेको भन्ने बिभिन्न जनगुनासोहरु अईरहेकोमा समयमा मकवानपुमरा समेत त्यस्तो गतिविधि देखिएपछि गएको असार १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्यस्ता शैक्षिक संस्थाहरु अनुमति लिएर मात्र संचालन गर्न र अविलम्व दर्ता गर्न आग्रह गर्दै सूचना जारी गरेपनि कुनै सुनुवाइ नगरेका कारण कारवाहीका लागि पक्राउ गरिएको मकवानपुर प्रहरीको भनाइ छ ।