‘सडकको ढुङ्गा जनप्रतिनिधिको मिलेमतोमा धमाधम क्रसरमा’

गुगलपाटी संवाददाता हेटौंडा
१२ श्रावण २०७५ ०२:३७

हेटौंडा–काठमाडौं छोटो दुरीको मार्गअन्तर्गत् सिस्नेरीमा सडक विस्तारको क्रममा निस्किएको ढुङ्गा जनप्रतिनिधिको मिलेमतोमा नजिकैको क्रसर उद्योगमा धमाधम लैजान थालिएपछि स्थानीयले त्यसको विरोध गरेका छन् ।
इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरी ज्यामिरेडाँडामा सडक विस्तारको क्रममा निस्किएको ढुङ्गा स्थानीय जनप्रतिनिधि, ठेकेदार कम्पनी, स्थानीय प्रशासन र क्रसर उद्योगको साँठगाँठमा क्रसर उद्योगलाई विक्री भएसँगै स्थानीयले त्यसको विरोध गरेका हुन् । करिब एक महिनादेखि क्रसर उद्योगमा ढुङ्गा लैजाने गरेको भए पनि स्थानीयले बुधबार बिहानबाट विरोध गरेसँगै हाललाई ढुङ्गा लैजाने काम रोकिएको छ ।‘खोला उत्खनन् गर्न नपाएसँगै क्रसरले सडक विस्तारको क्रममा निस्किएको ढुङ्गा लैजाने थालेको हो । सडक निर्माण गर्न छाडेर ठेकदार कम्पनी पनि ढुङ्गा बिक्रीमा बढी केन्द्रित भइरहेको छ । स्थानीय जनप्रतिनिधि पनि त्यसमा साथ दिइरहेका छन्’, एक स्थानीयले भने,‘सबै क्षेत्रबाट व्यापक विरोध भएसँगै क्रसर उद्योगमा लैजान लागिएको करिब तीन ट्रिप ढुङ्गा सडक निर्माण स्थलमा झारिएको छ । ‘सडक विस्तारका लागि डाँडा कटिड्ड गर्दा जुन स्थानबाट ढुङ्गा निस्किन्छ सोही स्थानमा मात्र कटिड्ड भइरहेको छ’, उनले भने ।स्थानीयका अनुसार हाल उक्त बाटो भएर सवारी सञ्चालन हुन सक्ने अवस्था छैन । ‘अहिले यसमार्ग भएर एम्बुलेन्स समेत सञ्चालन हुन सक्ने अवस्था छैन ।

बाटोमा पहिरो गएको छ । पहिरो पन्छाएर बाटो सञ्चालन गर्नुको सट्टा ढुङ्गा कहाँनिर छ भनेर खोज्दै हिँड्ने काम भएपछि हामीले विरोध गरेका हौं’, स्थानीयका अनुसार त्यहाँबाट निस्किने ढुङ्गा नजिकैको मत्स्यनारायण ढुङ्गा रोडा उद्योगमा लैजाने गरिएको छ ।‘हामीले प्रहरीलाई समेत जानकारी गराउँदा हाम्रो सीमा क्षेत्र पर्दैन भन्दै पन्छिने गरेका छन् । हाम्रो चौकी कटेर जाने अवस्था आयो भनेमात्र हामीले कारबाहीको प्रक्रिया अगाडि बढाउन मिल्छ भन्ने जवाफ हामीले प्रहरीबाट पाउने गरेका छौं’,एक स्थानीयले नाम नबताउने सर्तमा भने । स्थानीयका अनुसार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सडकको अनुगमन गर्दाको समयमात्र क्रसर उद्योग बन्द गरिएको थियो । ‘क्रसर उद्योग नियमित सञ्चालन भइरहेको छ’, स्थानीयले भने ।स्थानीयले भने आफूहरुले ढुङ्गा लैजान अबरोध गरेसँगै ज्यान मार्ने धम्की समेत आउन थालेको बताएका छन् । ‘कतिपयलाई ठेकेदार पक्षबाट ज्यान मार्ने धम्की समेत आउन थालेको छ’, स्थानीयले भने, ‘ढुङ्गा लैजान पाइएन भने ठिक हुँदैन भन्ने शैलीमा फोनबाट थर्काउने काम भइरहेको छ ।’इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–३ का अध्यक्ष चिरञ्जीवी पौडेलले स्थानीयले एक महिनादेखि क्रसरमा ढुङ्गा लगेको भन्ने आरोप मिथ्या भएको बताए ।

‘क्रसरमा एक महिनादेखि ढुङ्गा लगिएको छैन । ‘सडकका लागि आवश्यक पर्ने बेश निर्माणका लागि ठेकेदार पक्षले ढुङ्गा लैजान खोज्दा स्थानीयले त्यसलाई रोकेपछि समस्या समाधानका लागि म पनि त्यहाँ पुगेको थिएँ ।’, वडाअध्यक्ष पौडेलले ठेकेदार कम्पनीलाई बेसका लागि आवश्यक पर्ने ढुङ्गा लैजानका लागि डिभिजन सडक कार्यालयबाट पत्र ल्याउन आग्रह गरिएको र तत्काललाई ढुङ्गा लैजान रोकिएको बताए । ‘हामी स्थानीय निकायले ठूला सडक निर्माण गर्न सक्दैनौं । हामीले सडक निर्माण गर्ने वातावरण बनाउन जरुरी रहेको छ’, वडा अध्यक्ष पौडेलले भने ।
साझा कुरा दैनिकको सहयोगमा