मृगौला तस्करीको आरोपमा मकवानपुरका युवक पक्राउ

गुगलपाटी संवाददाता हेटौंडा
१३ श्रावण २०७५ १०:२४

मृर्गौला तस्करीको गरेको भन्दै मकवानपुरका एक युवक चितवनमा पक्राउ परेका छन् । मिर्गौला तस्करी गरेको आरोपमा चितवन प्रहरीले मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङलाई प्रक्राउ गरेको जनाएको छ ।
प्रहरीले मकवानपुरका तामाङसहित मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३५ वर्षका बिक्रम पहरी, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका प्रहरीले जानकारी दिएको छ ।
चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले असार २५ गते ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । सोही टिमले मिर्गौला तस्करी हुने गरेको तथ्य पत्ता लगाएर त्यसको गिरोहसमेत पक्राउ गरेको हो ।
दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गरेको अनुसन्धानबाट खुलेको चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रहरीले बिक्रम पहरी, प्रकाश तामाङ र दीपक लिम्बुलाई साउन १ गते चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई साउन १ गते काठमाडौंबाट र विशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको ढकालले बताए ।