नेकपामा प्रवेश गर्दै हृदयेश त्रिपाठी
गुगलपाटी संवाददाता काठमाण्डौंतत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर निर्वाचनमा बिजयी भएका नेता हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।
नेता त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया नेकपाले अघि बढाएको नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले बताए । ‘प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको छ’, उनले भने, ‘अब केही समयभित्र नै उहाँहरु पनि नेकपामा समाहित हुनुहुन्छ ।’
छलफल अघि बढेको जानकारी दिँदै गौतमले तर कसरी, कहिलेसम्म भन्ने टुंगो लाग्छ भन्ने एकिन नभएको बताए । स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसद्मा निर्वाचित सांसद हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि दुवैजना अहिले कानुनतः नेकपा सांसद छन् ।
एकताकै लागि त्रिपाठीले गत शुक्रबार र शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । तर, त्रिपाठीले भेटवार्ता भए पनि पार्टी एकीकरणकै सन्दर्भमा भने गम्भीरतापूर्वक छलफल अघि नबढेको बताए ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्रिपाठी नेतृत्वको समूहसँग एकीकरणका विषयमा छलफल चलिरहेको पुष्टि गरे । उनका अनुसार छलफल चलिरहे पनि एकीकरणपछि उनीहरूलाई के जिम्मेवारी दिने टुंगो लागेको छैन ।