काँग्रेस मकवानपुर भोली सडकमा उर्लिँदै
गुगलपाटी संवाददाता हेटौंडा,१४ साउनप्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार विरुद्ध सडक आन्दोलन गर्ने भएको छ । देशव्यापी सडक आन्दोलनमा उत्रन लागेको कांग्रेसले मकवानपुरको हेटौंडामा पनि भोली विरोध सभा गर्ने भएको छ ।
सोमबार काँग्रेस मकवानपुरले पत्रकार सम्मेलन गर्दै शसक्त सडक आन्दोलन गर्ने जनाएको हो । कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले केपी ओली नेतृत्व सरकारको मनोमानी रोक्न आन्दोलनमा उत्रनु परेको बताए । ‘ सरकारका कारण सर्वसाधारण मारमा पर्न थालेपछि बाध्य भएर सडकमा उत्रनु परेको हो’,उनले भने,‘आन्दोलनको सबै तयारी पुरा भईसकेको छ ।’
सरकारले दुईतिहाई बहुमतको दुरुपयोग गरेको अधिनायकवाद लाद्न खोजको बानियाँको आरोप छ । ‘अहिलेको सरकारले देशमा महँगी बढ्दा समेत सरकार गैरजिम्मेवार बनेको, सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने ऐन रहेपनि सरकारले त्यसो नगरेको, स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्न खोजेको,अघिल्लो सरकारको निर्णय लागू नगरेको, स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप गरेको, बाढी–पहिरो पीडितको वेवास्ता गरेकोलगायतका विषयले गर्दा आन्दोलन गर्नु परेको हो’,उनले भने ।
पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डीना उपाध्याय, प्रमुख सल्लाहाकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, उपसभापति विष्णु लामिछाने, जिल्ला सचिव बुद्ध लामा,नगरसभापति आन्नदराम पराजुली लगायतको उपस्थिती रहेको थियो ।