अब वीरगन्ज सुरक्षित हुने

गुगलपाटी संवाददाता
५ चैत्र २०७४ ०६:०७

वीरगञ्ज । फागुन १६ गते बुधबार राति वीरगञ्ज महानगरपालिका-१३ मा गोली चल्यो । गोली लागेर स्थाननी ३५ वर्षीया उमेश चौरसीया गम्भीर घाइते भए ।प्रहरीले ८ घण्टा भित्रमा उनको श्रीमती पि्रयंका चौरसीयासहित घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भयो ।पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले अनुसन्धानमा सीसीटीभी फुटेजको ठूलो योगदान रहेको बताउँछन् ।‘नागरिकलाई सुरक्षित राख्नु राज्यको पहिलो दायित्व हो, सीसीटीभि क्यामेरा जडानले त्यसमा सहयोग पुर्‍याइरहेको छ,’ उनले भने,’अपराध नियन्त्रण, अनुसन्धान र प्रमाण संकलनमा यसको ठूलो महत्व छ ।’त्यसबाहेक प्रहरीलाई सीसीटिभी क्यामेराको सहयोगबाट चोरीको मोटरसाइकल बरामद गर्न, सवारी दुर्घटनाका दोषी पहिचान सहज भएको प्रहरी अधिकारीहरु बताउँछन् ।सीमावर्ती शहर वीरगञ्जमा भारतीय अपराधिक समूहबाट विभिन्न घटना हुने गरेका छन् ।५ वटा सामुदायिक केन्द्र मार्फत सीसीटिभीको महत्वबारे बुझाउने काम भइरहेको प्रहरी उपरीक्षक डा. रेग्मीको भनाइ छ । ‘बैंक र होटल व्यवसायीहरुसँग छलफल भइसकेको छ । उहाँहरु कम्तिमा दुईवटा क्यामेरा जडान गर्न तयार हुनुहुन्छ,’ उनले भने, ‘सुनचाँदी व्यवसायी र निजी विद्यालयहरुसँग हामी चाँडै कुरा गर्दैछौं ।’वीरगञ्जका उद्योगी व्यवसायी र सुरक्षा निकाय एक वर्षभित्र वीरगञ्जको जताततै आधुनिक सीसीटिभी क्यामेरा जडान गर्न अग्रसर भएका छन् ।वीरगञ्जको विभिन्न क्षेत्रमा गरी अहिले ४४ वटा सीसीटिभी क्यामेरा जडान भइसकेका छन् । चार वटा पीटीजेड क्यामेरा -जुम गरेर हेर्न सकिने) र अन्य आईभी क्यामेराहरु जडान गरिएका छन् । वीरगञ्जमा २ सय देखि २५० वटासम्म क्यामेरा जडान गर्ने गरी अभियान अघि बढाइएको छ ।१७ लाखमा ४२ वटा क्यामेरा जडान गरिएको हो भने दुईवटा पुरानो क्यामेरा हुन् । परवानीपुरमा पनि १७ वटा क्यामेरा जडान गर्ने तयारी भइरहेको छ ।०६७ सालमा स्थापना भएको ‘सेफर वीरगञ्ज’ ले त्यसको एक वर्षपछि २० लाख संकलन गरेर वीरगञ्जको संवेदनशील ठाउँमा १० वटा क्यामेरा जडान गरेर अभियान शुरु गरेको थियो । पछि त्यसलाई बढाएर ७२ वटा पुर्‍याइएको थियो । तर, ०७२ सालको मधेस आन्दोलनमा तोडफोड हुँदा दुईवटा मात्रै बाँकी थिए ।