छाता ओडेर किन गए हेटौंडा अस्पताल मुख्यमंत्री पौडेल ?

गुगलपाटी संवाददाता हेटौंडा,१६ साउन
१६ श्रावण २०७५ १२:५९

मकवानपुरको हेटौंडामा रहेको हेटौंडा अस्पताललाई संघीय सरकारले तीनसय शैयाको अस्पताल बनाउने निर्णय गरेको भएपनि यो अस्पताल अब मनमोहन स्वास्थ्य प्रतिष्ठान बन्ने भएको छ ।
तीन नम्बर प्रदेश सरकारले अस्पताललाई मनमोहन स्वास्थ्य प्रतिष्ठान बनाउन काम थालेको मुख्यमंत्री डोरमणी पौडेलले बताए ।

तीन नम्बर प्रदेश मुख्य मन्त्री डोरमणि पौडेल र सााजिक विकास मन्त्री युवराज दुलालले बुधबार अस्पतालमा भइरहेको कामबारे अनुगमन गरी रोकिएको काम तत्काल सुचारु गर्न निर्देशन समेत दिएका छन् । अस्पताल परिसरमा संघीय सरकारको सहयोगमा थप ७० शैयाको भवन निर्माण कार्य ठेक्का लागेर पनि सुरु हुन सकेको छैन । नौ महिना अघि आशिष एण्ड डिएस जेभी निर्माण कम्पनीले २८ करोड दश लाख रुपैयाँमा ठेक्का पारेर काम अघि बढाएको थियो । तर अस्पताल परिसरमा रहेका आधा दर्जन पुरानो भवनसँगै २३ वटा अशोकको रुख र अन्य छ वटा रुख कटान हुन नसक्दा भवन निर्माण सुरु हुन सकेको छैन ।

बुधबार अस्पतालका कर्मचारीसँग छलफल गर्दै मुख्य मन्त्री पौडेल र सामाजिक विकास मन्त्री दुलालले रुख कटनाको लागि सहजिकरण गरिने बताउँदै पुराना भवनहरु तत्काल भत्काएर निर्माण थाल्न निर्देशन दिएका हुन् । हाल एकसय २० शैया सञ्चालनमा रहेको अस्पतालमा ७० शैया थप्न लागेको प्रदेश तीनका सामाजिक विकास युवराज दुलालले बताए । हाल अन्य चार वटा क्वाटर पनि निर्माण भइरहेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा स्वाथ्य मन्त्री हुँदा मध्यमाञ्चल क्षेत्रीय अस्पताल बनाएको हेटौंडा अस्पताललाई अघिल्लो सरकारले तीनसय शैयाको बनाउने निर्णय गरेको हो ।