रेडियो अनमोलद्वारा आधारभूत रेडियो पत्रकारिता तालिम प्रदान
गुगलपाटी संवाददाता मकवानपुर, १६ साउनहेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले साउन १० गतेदेखि थालेको ‘आधारभूत रेडियो पत्रकारिता तथा स्टेज पर्फोमेन्स तालिम’ आज समापन गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा सञ्चालित तालिमको आज समापन कार्यक्रम आयोजना गरी तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालको प्रमुख आतिथ्यता तथा रेडियो अनमोल संचालक समिति सदस्य कृष्णराज कोईरालाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तालिममा प्रशिक्षकहरुले रेडियो पत्रकारिता, रेडियो कार्यक्रम उत्पादन, स्क्रिप्ट लेखन, समाचार लेखन, नव रस लगायतका विषयमा आधारभूत प्रशिक्षण दिईएको रेडियो अनमोलकी कार्यक्रम संयोजक सलिना ढुङ्गेलले जानकारी दिईन् । तालिममा प्रशिक्षकहरु मनोहर ढकाल, रिपेश ऋिद्धि दाहाल, एमपी शर्मा, शिवहरी दाहाल, चन्द्र घलान, बलराम पुडासैनीसहित सलिना ढुङ्गेल र बालकृष्ण दाहालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई र प्रशिक्षक रिपेश दाहालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न जोड दिए । कार्यक्रममा बोल्दै रेडियो अनमोलका संचालक समिति सदस्य कोईरालाले ‘पत्रकारले जे देख्छ त्यो लेख्छ’ भन्दै समाजलाई सुशुचित गर्ने कार्यमा अग्रसर हुन आग्रह गरे । कार्यक्रममा बोल्दै वक्ताहरुले मकवानपुरमा पत्रकारिताको ठूलो सम्भावना भएको औँल्याउँदै तालिममा सिकेर व्यवसायिक पत्रकारितातर्फ अग्रसर हुन आग्रह गरेका छन् । पत्रकारितामा सम्भावना र चुनौति दुबै रहेको कुरामा जोड दिँदै सिक्ने र घरमा बस्ने भन्दा पनि पत्रकारिता तालिम लिएर फिल्डमा उत्रन सुझाव दिए ।
कार्यक्रममा बोल्दै रेडियो अनमोलका स्टेसन संयोजक बालकृष्ण दाहालले तालिम लिएका मध्ये ३ जनालाई रेडियो अनमोलमा जागिरको अवसर दिईने समेत बताए । साथै अन्य मिडियाले समेत तालिम लिएकाहरुलाई जागिरको अवसर प्रदान गर्ने सल्लाह भएको सुनाए ।
कार्यक्रममा प्रशिक्षकहरु मनोहर ढकाल, रिपेश ऋिद्धि दाहाल, एमपी शर्मा, शिवहरी दाहाल, चन्द्र घलान र बलराम पुडासैनीसहित प्रमुख अतिथि खुलाललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।