बानियाँ कम्पनीको अर्को बद्मासी : बन्नै नपाइ भत्कियो कल्भर्ट
गुगलपाटी संवाददाता वीरगन्जहुलाकी सडकखण्ड अन्तरगत पर्साको ठोरी क्षेत्रको सडकखण्डको काम रोकिएको छ ।
निर्माणको जिम्मा पाएको हेटौंडाको बानियाँ निर्माण कम्पनीले बद्मासी गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएपछि सडक निर्माण कार्य अवरुद्ध भएको हो । सो सडकखण्डको वीरगन्ज ठोरीको पनि ठोरी क्षेत्रकै ३० किलोमिटर निर्माणको जिम्मेवारी पाएको बानियाँ कम्पनीले गुणस्तर हिन काम गरिरहेको स्थानीयहरुले बताएका छन् । ठोरी गाउँपालिकाको वडा नम्बर ४ मा उक्त निर्माण कम्पनीले हालै निर्माण गरिरहेको कल्भर्ट निर्माणाधिन अवस्थामा नै भत्किएको छ ।
नाला र कल्भर्ट बन्दाबन्दै भत्किसकेको ठोरी गाउँपालिका वडा नम्बर ४ का स्थानीय युवा अशोक श्रेष्ठले नेपाल समाचारपत्रलाई बताए । उनले निर्माणको क्रममा बानियाँ कम्पनीले निकै गुणस्थरहिन कार्य संचालन गरेको आरोप लगाए ।
ठोरी गाउँपालिकाको चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडकखण्डको जिम्मा लिएको सो निर्माण कम्पनीलाई कारवाही हुनुपर्ने स्थानीय दबाब समूहका अध्यक्ष जयराम श्रेष्ठले बताए ।
ठेकेदार कम्पनीलाई सडकको गुणस्तरीयताबारे पटकपटक सुझाव दिंदा समेत कुनै सुनुवाइ नगरेको उनले गुनासो गरे ।सडकमा गाडी गुड्दा चिप्लिएर दुर्घटना हुने सम्भावना देखिएपछि सवारी साधन चलाउने अवस्था नभएपछि बिगत एक सातादेखि वीरगन्ज ठोरी सडकखण्डमा सवारी साधन ठप्प भएका छन् ।
सडक जथाभावी निर्माण गरिएका कारण सडकमा बर्षात्को समयमा गाडी कुद्ने अवस्था नै नभएको चालकहरुले गुनासो गरेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पि।एल।श्रेष्ठले बानियाँ निर्माण कम्पनीले बद्मासी गरेको कुरा आफूकहाँ पनि स्थानीयहरुले गुनासो गरेको बताए ।
उनले सडक निर्माणमा गुणस्तरसंग कुनै संझौता नहुने नेपाल समाचारपत्रलाई बताए । सडक निर्माणको जिम्मा पाएको बानियाँ निर्माण कम्पनीका ठेकेदार भने सम्पर्कमा आउन नै चाहेनन् ।
आजको नेपाल समाचारपत्रमा खबर छ।