चित्लाङमा होमस्टे थपिँदै
गुगलपाटी संवाददाता मकवानपुरमकवानपुरको चित्लाङमा आन्तरिक एवं बाहय पर्यटक आकर्षित भएकाले होमस्टे फस्टाउन थालेको छ । हालसम्म १२ होमस्टे सञ्चालनमा छन् । ६ वर्षअघिसम्म यहाँ एउटै थिएन ।
तत्कालीन जिविस मकवानपुरको सहयोगमा स्थानीयले ०६८ सालमा चार होमस्टे स्थापना गरेका थिए । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि चित्लाङमा आन्तरिक एवं बाहय पर्यटकको आकर्षण बढेको छ । चित्लाङमा पर्यटकको आवागमन बढेकाले होमस्टेको संख्या पनि थपिँदै गएको हो । चालू आवमा अझै ५र६ होमस्टे थपिने सम्भावना छ । वर्षायाममा पनि आन्तरिक एवं बाहय पर्यटक चित्लाङ आउने गरेका छन् ।
‘पहिला पहिला शुक्रबार मात्र थानकोटबाट हिँडेर आन्तरिक एवं बाहय पर्यटक चित्लाङ आउँथे,’ चित्लाङस्थित गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘अहिले त साताभरि नै आउँछन्, कहिलेकाहीँ बस्ने ठाउँ नपुगेर टेन्ट गाडेर राख्नुपर्छ ।’ विशेषगरी शुक्रबार चित्लाङका १२ वटै होमस्टेमा पर्यटक अटाईनअटाई हुने गरेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाअन्तर्गत साबिकको चित्लाङ गाविसमा घुम्न आउने पर्यटकलाई खान र बस्न दिएर होमस्टे सञ्चालकले मासिक ५० देखि ८० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । सुरुमा होमस्टेमा पाहुना नआएर चिन्तित स्थानीय व्यवसायी अहिले निकै उत्साहित देखिन्छन् ।
चित्लाङको ९ र १० नं. वडामा गरेर १२ वटा होमस्टे चलाइएको छ । ‘बस्न आउनेको संख्या बढ्दै गएकाले होमस्टे पनि थपिँदै गएको छ,’ चित्लाङ सामुदायिक होमस्ट समिति संयोजक राधाकृष्ण बस्नेतले भने, ‘चित्लाङ अब होमस्टे गाउँका रूपमा परिणत हुँदै छ ।’ यहाँ आउने आन्तरिक एवं बाहय पर्यटकलाई स्थानीयले बाजागाजासहित स्वागत गर्ने गरेका छन् । चित्लाङमा उत्पादन गरिएका खाद्यवस्तु मात्र खान दिइन्छ । आन्तरिक एवं बाहय पर्यटक बाक्लो रूपमा आउन थालेकाले केही होमस्टेहरू रिसोर्टका रूपमा विकास हुँदै गएका छन् ।
पर्यटक दैनिक रूपमा बढदै गएपछि होमस्टेको ‘फ्लेवर’ नै सुरक्षित राख्न मुस्किल पर्ने हो कि भन्ने सञ्चालकलाई पर्न थालेको छ । ‘होमस्टेको फ्लेवर बचाउन पर्छ, यसलाई रिसोर्टजस्तो बनाउनु हुँदैन,’ स्थानीय काजी होमस्टेका सञ्चालक रामकृष्ण बस्नेतले भने, ‘ यसको आफ्नै पहिचान र परम्परा एवं परिभाषा छ ।’ चित्लाङमा अहिले जुन गतिमा होमस्टे स्थापना भए त्यही गतिमा रिसोर्ट पनि खुल्न थालेका छन् । होमस्टे र रिसोर्ट बढ्न थालेसँगै चित्लाङका जमिनको भाउ पनि ह्वात्तै बढेको छ ।
केबलकार सञ्चालनसँगै चित्लाङमा प्राचीन सम्पदाको अध्ययन अवलोकन गर्ने पर्यटक पनि बढेका छन् । राजधानीनजिक रहेको प्राकृतिक मनोरम चित्लाङ घुम्न आउनेको संख्या बढ्नुको अर्को कारण बताउँछन् अध्यक्ष बस्नेत । काठमाडौंको थानकोटबाट १३ किलोमिटर दूरीको चित्लाङका अधिकांश होमस्टे सधैं भरिभराउ हुने गरेका छन् । काठमाडौंदेखि ट्रेकिङमा आउनेको बसाइ पनि यिनैमा हुन्छ । होमस्टे सञ्चालकले पाहुनालाई स्थानीय कलासंस्कृति पनि प्रदर्शन गर्ने गरेको सुनाए ।
चित्लाङ थानकोट मोटरबाटो चाँडो नबनेकाले अझै समस्या भएको उनीहरूको भनाइ छ । ‘यो मोटरबाटो बनेपछि चित्लाङमा पर्यटक थामी नसक्नु हुन्छ,’ थाहा नपा प्रमुख लवशेर विष्टले भने, ‘उक्त मोटरबाटो छिटोभन्दा छिटो बनाउन दबाब दिइरहेका छौं ।’ सरकारले आगामी वर्षको बजेटमा थानकोट चित्लाङ सुरुङ मार्ग बनाउने घोषणा गरेको छ । सरकारको यो घोषणाले चित्लाङलगायत थाहा नगरवासी हर्षित छन् । सुरुङ बनेपछि राजधानीको सबैभन्दा नजिकको पर्यटकीय गाउँ चित्लाङ हुने उनको अनुमान छ ।
पर्यटन विकास बोर्डले चार वर्षअघि मुलुकको पहिलो पर्यटकीय गाउँ घोषणा गरेको थियो ।
मकवानपुरको ऐतिहासिक रूपमा रहेको चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ । चित्लाङले पर्यटक लोभ्याउन सफल भएकाले पर्यटन बोर्डले उक्त गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गरेको हो ।
कान्तिपुरबाट