मकवानपुरमा २४ प्रतिशत बढी राजश्व संकलन
गुगलपाटी संवाददाता मकवानपुरमकवानपुरमा आर्थिक वर्ष २०७४/०७५ मा २४ प्रतिशत बढी राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय हेटौंडाका अनुसार गत आवमा दुई अर्ब ९३ करोड १२ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
आव २०७३/०७४ मा कार्यालयले दुई अर्ब ३६ करोड ७२ लाख ८४ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले कुल दुई अर्ब ९३ करोड ७९ लाख ९० हजार रूपैयाँ राजश्व संकलन लक्ष्य राखेको थियो । २०७३/०७४ को आर्थिक वर्षमा भन्दा यस वर्ष ५६ करोड ४० लाख नाै हजार कर संकलनमा वृद्धि भएको कार्यालयको तथ्यांक छ ।
गत आवमा आयकर र भ्याटमा राजश्व संकलनमा वृद्धि देखिएको छ । ५३ करोड २८ लाख ९० हजार रुपैया भ्याट संकलन भएको छ । आयकर ६७ करोड ४३ लाख १८ हजार रुपैयाँ, अन्तः शुल्कबाट एक अर्ब ६५ करोड २१ लाख ९५ हजार, ब्याजबाट तीन करोड १७ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । शिक्षाबाट ४५ लाख २४ हजार, स्वास्थ्यबाट ५१ लाख ५८ हजार र घरबहाल करबाट तीन करोड ४ लाख १० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
गत आवमा ५६ करोड ४० लाख बढी राजस्व संकलन हुनुले कर आधार विस्तार र करप्रणाली सुदृढ भएको संकेत गरेको कार्यालय प्रमुख राजेन्द्र पौडेलले बताए । सडक स्तरोन्नति र प्रदेश सरकार गठन भएस“गै राजस्व वृद्धि भएको पौडेलको भनाइ छ ।
प्रदेश सरकार गठनपश्चात् मन्त्रालय स्थापना भएर त्यहा कर बुझाउनुपर्ने कारण गत वर्ष राजस्व संकलन बढेको पौडेलले बताए । हाल मकवानपुरमा व्यावसायिक करदाता संख्या २० हजार सात सय ७४ छन् भने व्यक्तिगत करदाता १६ हजार दुई सय १४ छन् । मूअ करमा दर्ता संख्या तीन हजार तीन सय ११ छ । अन्तः शुल्क इजाजत संख्या नाौ सय ८६ रहेको कार्यालयको तथ्यांक छ । चालु आवमा तीन अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख पौडेलले बताए । हाल सरकारले बढाएको ढुवानी, सिमेन्ट कर, पुनर्निर्माण गतिविधि र पूर्वाधार विकासका दृष्टिमा चालु आवमा लक्ष्यअनुरुप राजस्व संकलन हुने पौडेलको दाबी छ ।
आजको नयाँपत्रिका दैनिकमा खबर छ।