समन्वय समितिको काम कर्तव्य तोक्न माग

गुगलपाटी संवाददाता हेटौंडा
१९ श्रावण २०७५ ००:४७

३ नम्बर प्रदेशको जिल्ला समन्वय समिति महासंघले जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकार केन्द्रीस्य सरकारले नतोकेको भन्दै गुनासो गरेका छन् ।

जिल्ला समनव्य समितिका उपप्रमुख र सदस्यहरुको मर्यादाक्रमसमेत नतोकिएको भन्दै महांसंघको शुक्रबार हेटौंडामा भएको बैठकमा सहभागीले आपत्ति जनाएका हुन् । समृद्ध समाज दैनिकमा खबर छापिएको छ । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका सदस्यहरुले दुइवटा चुनावबाट आफूहरु छानिए पनि गाउँपालिका र नगरपालिकाले आफूहरुसँग कुनै पनि समन्वय गर्ने नगरेको भन्दै दुखेसो समेत गरेका छन् ।

बैठकमा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी उप्रमुख दीपा पाख्रिनले सरकारले मर्यादाक्रम छिट्टो तोक्नुपर्नेमा जोड दिइन् । धादिङका कृष्ण अर्यालले कानूनमा तोकिएको अधिकार प्राप्तीको लागि महासंघले आवाज उठाउनुपर्नेमा जोड दिए ।

महासंघले शुक्रबार नै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई भेटी ज्ञापनपत्रसमेत बुझाएको छ । महासंघकी केन्द्रीय सदस्य सीता सुन्दाससहितको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै समन्वय समितिका पदाधिकारी र सदस्यलाई संविधानले तोकेको अधिकार प्रदान गर्न आग्रह गरे ।