प्रतिकुल खाद्यसम्बन्धी मुद्दा बढ्दो
गुगलपाटी संवाददाताहेटौंडा पछिल्ला वर्षहरुमा प्रतिकुल खाद्यान्न सम्बन्धी मुद्दा दर्ता हुने क्रम बढेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पछिल्ला वर्षहरुमा दर्ता गरेको मुद्दाको संख्यालाई केलाउँदा यस्तो पाइएको हो ।
४ वर्षयताकै सबैभन्दा धेरै मुद्दा गत आर्थिक वर्ष २०७४/७५मा भएको छ । ९ वटा जिल्लाको प्रशासन कार्यालयमा गत वर्ष एक सय १९ वटा मुद्दा दर्ता भएका छन् । आव ०७३/७४ मा त्यो संख्या ४0 वटा मात्र रहेको थियो । आव ०७२/७३ मा भने खाद्यसम्बन्धी मुद्दाको संख्या एक सय १ रहेको थियो । ०७१/७२ मा मुद्दा संख्या २५ वटा मात्र रहेकोमा ०७०/७१ मा भने एक सय ३ वटा मुद्दा दर्ता भएका थिए । बजार अनुगमनमा सक्रियता देखाएसँगै खाद्य प्रतिकुलता बढी देखिएको र मुद्दा दर्ता पनि बढी भएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख राजकुमार रिजालले बताए । उनले अघिल्ला वर्षहरुभन्दा मुद्दा बढेको देखिनुमा अनुगमनको प्रभावकारिता मात्र भएको तर, समस्या भने पहिले र अहिले पनि उस्तै रहेको बताए ।
कार्यालयले शुक्रबार हेटौंडामा वार्षिक समीक्षा गोष्ठीको आयोजना गर्दै प्रगति विवरण सार्वजनिक गरिएको हो । गत आवमा अनुगमन तथा निरीक्षणबाट ६ सय १ वटा खाद्य नमूना संकलन गरिएकोमा ८१ वटा खाद्य प्रतिकुल नमूना भेटिएको कार्यालयले जनाएको छ । गत आवमा सबैभन्दा धेरै तेल तथा घ्यूजन्य पदार्थ उत्पादक तथा वितरकविरुद्द मुद्दा दर्ता भएको देखिएको छ । एक आर्थिक वर्षमा ३४ वटा तेल तथा घ्युजन्य मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी २२ वटा दलहन समूहका खाद्य पदार्थसम्बन्धी मुद्दा दर्ता भएको कार्यालका प्रमुख राजकुमार रिजालले जानकारी दिए । दूध तथा दूधजन्य पदार्थसम्बन्धी मुद्दा पनि उत्तिकै मात्रामा दर्ता भएको छ । गत वर्ष दूध तथा दूधजन्य पदार्थसम्बन्धी मुद्दा १५ वटा दर्ता भएका छन् । प्रशोधित पिउने पानीसम्बन्धी मुद्दा दर्ता पनि बढ्दो रहेको कार्यालयले जनाएको छ । पानीसम्बन्धी मुद्दा गत आवमा ११ वटा दर्ता भएको छ । सरकारले गुणस्तरको मापदण्ड नतोकिएको तर, खाद्य परीक्षण गर्दा प्रतिकुल भेटिएका खाद्यवस्तुसम्बन्धी पनि मुद्दा दर्ता भएको छ ।
गत आवमा कार्यालयले १८ वटा त्यस्ता प्रवृत्तिका मुद्दा दर्ता भएको कार्यालयका प्रमुख रिजालले बताए । ९ वटा जिल्लालाई कार्यक्षेत्र बनाइरहेको कार्यलयले गत आवमा मकवानपुरमा सबैभन्दा बढी खाद्यसम्बन्धी मुद्दा दर्ता गरेको छ । त्यसैगरी बारा जिल्ला प्रशासनमा कार्यालयले ३४ वटा मुद्दा दर्ता
गरेको जनाइएको छ । त्यसैगरी पर्सामा २१, धनुषा र सर्लाहीमा १०–१० वटा मुद्दा दर्ता भएको कार्यालयले वार्षिक प्रगति विवरणमा उल्लेख गरिएको छ । नमूना संकल गरी परीक्षण गरिएकोमध्ये १३ दशमलव ४ प्रतिशत खाद्यान्न प्रतिकुल भेटिएको कार्यालयका खाद्य निरीक्षक अनुप हलुवाईले बताए । आजको साझाकुरा दैनिकमा खबर छापिएको छ ।