बच्चा जोगाउनै समस्या
गुगलपाटी संवाददाता मकवानपुर,१९ साउनजस्ताले बेरेको झुप्रो घर। पानी चुहिने छानोमुनि प्रीति चेपाङलाई चार छोराछोरी जोगाउन मुस्किल छ। मकवानपुरको पश्चिमी राक्सिराङ–७ धिराङकी २६ वर्षीय प्रीति ठूलो पानी पर्दा सुत्न सक्दिनन्। घरमा चुहिएको पानीबाट बालबच्चालाई जोगाउँदैमा उनको रात बित्छ।
भूकम्पले ढुंगाको गाह्रो भएको घर भत्किएपछि जस्ताको अस्थायी टहरामा सरेको उनको परिवार तीन वर्ष बितिसक्दा पनि नयाँ घरमा सर्न सकेको छैन। प्रीतिको काखमा १० महिनाका छोरा छन्। ठूलो छोरा आठ वर्षका भए। असारयता बर्खाको चिसोले उनका दुई छोरा निमोनियाका कारण बिरामी छन्। उनीहरूलाई झाडापखालाले पनि सताइरहन्छ। ‘ठूलो पानी पर्दा पानी चुहिन्छ, गाउँमाथितिरबाट आएको पानी पनि घरमै छिर्छ’, प्रीतिले गुनासो गरिन्, ‘रोगव्याधिबाट बालबच्चा जोगाउनै मुस्किल भयो।’
बिरामी बालबच्चालाई के खुवाएर छाक टार्ने भन्ने उनलाई अर्को चिन्ता छ। ‘खोरियामा लगाएको मकै पाकेको छैन, बेसाएर ल्याएको चामलले कति दिन धान्नु ’, उनले भनिन्, ‘घर बनाउन थालेकाले बूढालाई पनि ज्याला गर्न पठाउन सकेको छैन।’
घर बनाउँदा उल्टै ऋण
प्रीतिको परिवारले भूकम्पपीडितका लागि सरकारले दिने अनुदान रकमबाट घर बनाउन थालेको डेढ वर्ष बितेको छ। श्रीमान् भद्रबहादुर चेपाङ आफ्नै घर निर्माणमा जुटिरहेका छन्। घर धान्ने चिन्तासँगै उनलाई कहिले घर निर्माण सकिएला भन्ने अर्को चटारो छ। ‘घर बनाउनुभन्दा पनि पैसा ल्याउन गाह्रो’, भद्रले गुनासो गरे, ‘दुई दिन लगाएर सदरमुकाम गयो, यो मिलेन त्यो मिलेन भनेर पैसा दिन मान्दैनन्। दोस्रो किस्ताको रकम ल्याउन पनि एक हप्ता हेटौंडा बस्नुप¥यो।’
उनले पहिलो ५० हजार र दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ बुझेर घर निर्माण गरिरहेका छन्। ‘झ्यालढोका उठाइसकेँ, दसैँमा नयाँ घरमा सर्ने योजना छ’, भद्रले भने, ‘बरु आफैंले बनाएको भए यतिखेर नयाँ घर बनिसक्थ्यो।’
मकवानपुर र चितवनको सिमानामा पर्ने लोथरखोलास्थित डिहीबाटरबाट निर्माण सामग्री बोकेर गाउँसम्म ल्याउन पाँच घण्टा उकालो हिँड्नुपर्ने भएकाले ज्याला महँगो पर्ने उनले बताए। ‘घर बनाउन थालेपछि बाहिर ज्याला गर्न पाएको छैन, उल्टो २० हजार रुपैयाँ ऋण लागिसक्यो’, भद्रले गुनासो गरे, ‘खानेकुरा जोहो गर्ने कि ऋण थपेर घर बनाउने अन्योलमा छु।’
आजको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ ।