जसले एक हात कछाडमा जीवन बिताए

गुगलपाटी संवाददाता (राक्सिराङ)मकवानपुर,साउन १९
१९ श्रावण २०७५ १०:१५

मकवानपुरको राक्सिराङ ७ वापलिङमा जन्मिएका सितल सिं चेपाङलाई जाडो, गर्मी होस् वा कुनै जात्रा र चाडपर्व लाज ढाक्न एक हात कछाड भए पुग्छ । जीवनको ६९ औं बसन्त पार गरिसकेका उनले जाडो, गर्मी, घाम पानी सबै कछाडको भरमा कटाए ।
सामन किनमेल गर्न काम विषेशले मनहरी र भण्डारा बजार जाँदा मात्र उनको ज्यानमा लुगा परेको छ । गरिवी र अनिकाल, ओढारको वरिपरि जीवनको सात दशक बिताएका उनलाई राम्रो लुगा लगाउने रहर नभएको होईन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको लोथर बजारबाट १२ घण्टा पैदल हिडेपछि पुगिने वापलिङस्थित झुप्रो नजिक खोरियाबारीमा लगाएको मकै जोगाउन बाँदर धपाउँदै गरेका उनी भन्छन्, ‘बानी नभएर होला अब त ज्यानमा कपडा लगाउँदा पनि निक्कै अप्ठ्यारो लाग्छ ।’ उनी सम्झन्छन्, ‘वर्षमा एक पटक बाले नयाँ कछाड किन्दिन्थे, म सानै छँदा आमालाई खोलाले बगायो, बा धम्कीको रोगले बितेपछि त्यही कछाड पनि किन्न सकिँन ।’

dav

आमा बा बितेपछि उनी ओढारमा बस्न थाले । साबिक वापलिङ र काँकडा–७ घयाङमा ओढारमा बसेका उनले बिहे पनि ओढारमै गरे । उनकी श्रीमतीले एक वर्षको दुधे बालक सहित पाँच छोरा छोरी छाडेर अर्कैसँग बिहे गरिन् । ‘एउटा घर पनि बनाउन नसक्ने भनेर घर भएकासँग श्रीमती भागिन्’,उनले भने,‘त्यसपछि मैले खोरिया फाडेर झु्रपो बनाए र उनकै बैनी निरमायासँग बिहेँ गरे ।’ जेठी श्रीमतीबाट जन्मेकी तीन छोरा छुट्टिएर बसेका छन् भने दुई छोरी बिहे गरेर गएका छन् ।
सितलका कान्छी श्रीमतीबाट दुई छोरी र एक छोरा जन्मेका छन् । कान्छी श्रीमतीबाट जन्मेकी जेठी छोरी १८ वर्षकी र छोरा भर्खरै तीन वर्षका भए । जेठी श्रीमतीबाट जन्मेका कान्छा छोरा राम बहादुरले गाउँमै ज्याला मजदुरी गर्न थालेपछि उनलाई घर परिवार चलाउन अलि सजिलो भएको थियो । त्यसपछि राम्रो कमाई हुन्छ भन्दै तनहुँमा काठ ठेकेदारले कामको लागि लगेका २२ वर्षीय रामबहादुरले उनीसँग भेट गर्न पाएनन् । छोराले घरमा पैसा ल्याउने आशमा रहेका सितलले उल्टै दश हजार रुपैयाँ ऋण काढेर उनको शव ल्याउनुप¥यो । काठले च्यापिएर कमाउन गएका छोराको २०७२ साल पुस १४ गते ज्यान गएको थियो ।
‘छोराको शव ल्याउन लागेको खर्च अझै तिर्न सकेको छैन,हुर्केका छोरीहरु पोईला गईहाल्छन्’,उनले दुःखी हुँदै भने, ‘छुट्टिएका छोराहरुले हेर्दैनन्,काखमा रहेको बालक कहिले हुर्कने ?’
एक हलको मेलो रहेको खोरिया बारीमा लगाएको मकै पनि बाँदरले खाइदिएपछि उनी दुःखी छन् । ‘बाँदरको बथान खतिखेर आएर मकै खान्छ थाहै छैन,घर भित्र्याउन पाए तीन चार महिना खान पुग्थ्यो’,उनले भने ।


उनी गाउँ घरमा झाँक्रीको काम गर्छन् । ‘मैले गाउँ घरमा झारफुक गरेर केही कमाउँछु,बुढी र छोरीहरु कन्दमुल खोज्ने र माछा मार्ने गर्छिन् । एक छाक खाएर भएपनि बाँचेको छु’,उनले भने,‘यसरी नै जीवन चलिरहेको छ ।’
उनीले ६८ वर्षको उमेरमा नागरिकता बनाएका छन् । ७० टेक्दै गर्दा पनि ह्रिष्टपुष्ट रहेका सितल सबैसँग मुस्कुराउँछन् । २२ वर्षीय लक्काजवान छोरा गुमाएपछि शोकमा डुबेका सितलले कछाडको भरमा जीवन बिताईरहेका छन् । उनी भन्छन्, ‘सबैले मलाई सितल भनेर बोलाउँछन् तर  मेरो मनभित्र जलेको आगो कस्ले देख्छ र ।’