गिटी बालुवा चोरी गर्ने शिवमको एक्साभेटर र ट्रिपर प्रहरी नियन्त्रणमा
गुगलपाटी संवाददाता रमेश बञ्जारा/हेटौडा,१९ साउनअबैध रुपमा खहरे उत्खनन् गर्दै गर्दा हेटौडा–१७ हटियास्थित शिवम् सिमेन्ट लिमिटेडको एक्साभेटर र दुई वटा ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा १७ स्थित वडा कार्यालय नजिक खहरेबाट ना १ क ६२२७ नम्बरको एक्साभेटरसँगै बा २ क ९१ र बा २ क ९३ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।
‘वर्षातको समयमा कानून बिपरित खहरे खोलाबाट गिटी बालुव उत्खनन् गर्दै गर्दा शुक्रबार दिउँसो एक्साभेटर र ट्रिपर नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘आवश्यक कारबाहीको लागि प्रहरीलाई जिम्मा लगाएका छौं ।’
स्थानीहरुले शिवम्को एक्साभेटरले गिटी बालुवा उत्खनन् गरिरहेको देखेपछि प्रशासनमा खबर गरेका थिए । वर्षातको तीन महिना सरकारले खोलाबाट गिटी बालुवा उत्खनन् गर्न प्रतिबद्ध लगाउँदै आएको छ ।
अबैध रुपमा शिवम्ले खोला खनेको भन्दै असन्तुष्ट स्थानीयहरुले १७ नम्बर वडा अध्यक्ष भैरव राईले मेसिन छुटाउन लागि परेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । अध्यक्ष राई लगायतका शिवम्का प्रतिनिधिहरु मेसिन छुटाउन प्रमुख जिल्ला अधिकारी भेट्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए । बिगत् लामो समयदेखि बिभिन्न बहानामा शिवम्ले अबैध रुपमा स्थानीय खहरे खोलाहरुबाट गिटी बालुवा उत्खनन् गर्दै आएको स्थानीयको आरोप छ ।