मकवानपुरमा अझै ५ सय प्रहरी चाहिने

गुगलपाटी संवाददाता हेटौंडा
२० श्रावण २०७५ ०१:२७

शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन र त्यसँग सम्बन्धित कार्यको लागि मकवानपुरमा अझै ५ सय जना नेपाल प्रहरीको दरबन्दी आवश्यक रहेको बताइएको छ ।

प्रदेश नम्वर ३ को राजधानी हेटौडा भएसँगै दैनिक रुपमा उच्च पदस्त व्यक्तिहरुको सुरक्षाको लागि पनि प्रहरी खटिनुपर्ने भएकाले प्रहरीको संख्या थप्नुपर्ने आवश्यकता रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्विराज गुरुङले बताए । बढ्दो शहरीकरण, जनसङ्ख्याको चाप र बढ्दो लागूऔषध कारोबारलाई नियन्त्रण गर्नको लागि हालको सुरक्षाकर्मी अपुग हुने उनको भनाइ छ । देश संघीय संरचनामा गएपछि सरकारले प्रत्येक स्थानीय तहमा एउटा ईलाका प्रहरी कार्यालय आवश्यक रहेको बताएको छ । तर आवश्यकता अनुसार दरबन्दी भने पूरा गर्न सकिएको छैन । मकवानपुरमा ७ सय २५ जना प्रहरीहरु दरबन्दी रहेकोमा हेटौडा राजधानी भएपछि ४० जना थप गरि ७ सय ६५ पु¥याइएको प्रहरी उपरीक्षक गुरुङको भनाइ छ ।

उनले प्रत्येक स्थानीय तहमा एउटा ईलाका प्रहरी कार्यालय स्थापना गर्न आवश्यक रहेकोमा मकवानपुरगढिमा मात्रै नभएकोले त्यहाँ पनि ईप्रका स्थापना गर्न लागिएको बताए । उनले भने ‘ईप्रकाको लागी सरकारले ४० जना दरबन्दी भनेपनि हामी तत्काललाई १०/१२ जना मात्रै राख्छौ । मकवानपुरगढीमा ईप्रका स्थापनाको लागी भवन खोजिरहेका छौ ।’ गुरुङ्का अनुसार मकवानपुरमा हाल कुल प्रहरीमध्ये नियमित हाजिर हुनेमा ५ सय ७५ जना रहेका छन् । दैनिक रुपमा १५ देखि २५ प्रतिशत प्रहरी विभिन्न समस्याले गर्दा बिदामा बस्ने गरेको उनले बताए ।

उनले भने हाल हेटौडामा ६६ वटा पद रिक्त रहेको र पछिल्लो २ हप्तामा मात्रै मकवानपुरबाट एकसय ६० जना प्रहरी अन्यत्र रवाना भएकोमा मकवानपुरमा हालसम्म ९० जना मात्रै आईपुगेका छन् । अन्य ७० जना आउने क्रममा नै छन् । मकवानपुरमा हाल प्रहरी दरबन्दीको १ सय ३० जना रिक्त रहेका छन् । मकवानपुरमा ५ सय प्रहरीको दरबन्दी आवश्यकता रहेकोमा आफुहरुले सरकारसँग ४ सय भन्दा बढी प्रहरी दरबन्दीको माग गरिसकेको पनि प्रहरी उपरीक्षकले जानकारी दिए ।

मकवानपुरमा करिव ४ लाख जनसङ्ख्या रहेकोमा हेटौडामा मात्रै करिव २ लाख जनसङख्या रहेको छ । जनसंख्याको चापमा वृद्धि र अपराधका घटना बढेसँगै प्रहरीको संख्या पनि बढाउनुपर्ने प्रहरी उपरीक्षक गुरुङको भनाइ छ । आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।