नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

गुगलपाटी संवाददाता चितवन
२० श्रावण २०७५ ०२:०६

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएराति करिब साढे १० बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । रातिको समयमा पहिरो पन्छाउन नसकिएपछि आइतबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । नारायणगढ-मुग्लिन सडक बिस्तार भएपनि ठाउँ ठाउँमा पहिरो झर्ने क्रम नरोकिँदा यात्रुहरुले सास्ती पाएका छन् । अहिले सो सडकमा पहिरो पन्छाएर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शनिबार पनि पहिरोले सो सडकखण्ड अवरुद्ध भएको थियो ।