३ नम्बर प्रदेशको प्रदेशसभा साउन अन्तिम साता, मकवानपुरका २६ सय बालबालिका अझै विद्यालय बाहिर
गुगलपाटी संवाददाताआफ्ना माग पूरा नभए संसद चल्न नदिने प्रमुख विपक्षी काँग्रेसको कारण साउन ४ गतेबाट स्थगित प्रदेश ३ को बैठक साउन अन्तिम साता बस्ने भएको छ ।
वर्षा र पहिरोको कारण हेटौंडा आउन असहज भएको र विधेयकहरु पनि तयार भइनसकेकोले बैठक केही पर धकेलिएको थियो । सभामुख सानुकुमार श्रेष्ठले बैठक अन्तिम साता बस्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘पहिरोका कारण आवतजावतमा समस्या छ, सरकारले विधेयकहरुको पनि तयारी गरिरहेको छ । ’ उनले भने ‘२३ वा २७ गतेबाट बैठक बस्नेगरी छलफल भइरहेको छ , अब ढिला हुँदैन ।’ अब भने विपक्षीको अवरोध नहुने उनले विश्वास व्यक्त गरेका छन् ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने विषय सम्बोधन नभएसम्म बैठक चल्न नदिने अडानका साथ प्रतिनिधि र प्रदेशसभामा अवरोध गरे पनि प्रतिनिधिसभा सभामुखको रुलिङपछि सञ्चालन भइसकेको छ । प्रदेशसभा भने अझै सुचारु हुन सकेको छैन ।
आजको कान्तिपुर दैनिकमा नगेन्द्र अधिकारीले हेटौंडाबाट समाचार लेखेका छन् ।
त्यसैगरी मकवानपुरका २६ सय बालबालिका अझै विद्यालय बाहिरै रहेको खबर पनि कान्तिपुर दैनिकले छापेको छ । स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् ।
पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यका साथ वर्षेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरु स्कुलभन्दा बाहिरै छन् । जिल्लामा ५ देखि १२ वर्षसम्मका ८३ हजार ५ सय ७५ बालबालिका छन् ।
तीमध्ये ८१ हजार विद्यालय भर्ना भएका छन् । विद्यालय भर्ना नभएकालाई भर्ना गराउन दोस्रो अभियानसमेत सञ्चालन गरिएको जिल्ला शिक्ष विकास समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । आजको कान्तिपुर दैनिकमै समाचार छ ।