२० जना यात्रु सवार बस बाढीले बगायो

गुगलपाटी संवाददाता मकवानपुर,साउन २१
२१ श्रावण २०७५ १२:३८

हेटौंडाबाट पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित राइगाउँका लागि छुटेको बस फापरबारीनजिकैको लम्कना खोलाले बगाएको छ । नारायणी संघ हेटौँडा कम्पनीका पूर्वी मकवानपुर संयोजक विश्व राईले सोमबार बिहान हेटौँडाबाट छुटेको ना ५ ख १८१६ नं को बसलाई लम्कना खोलाले बगाएको बताए । उनका अनुरा २० जना यात्रुसहितको बसलाई खोलाले बगाएको थियो ।


खोलाले केही मिटर बगाएर लडाएपछि बसमा सबार यात्रुहरुलाई उद्धार गरिएकाले मानवीय क्षति हुन नपाएको राईले बताए । ‘अहिले पनि बस खोलाको बीचमै छ,उद्धारका लागि धरान चतरा सडक आयोजनाको डोजर बोलाएका छौं’, उनले भने ।