मकवानपुरमा भब्य रुपमा आदिवासी जनजाती दिवस मनाइदैछ : काजीमान थिंङ्ग तामाङ्ग
गुगलपाटी संवाददाता
यही साउन २४ गते परेको बिश्वआदिवासी दिवसका अवसरमा मकवानपुरमा बिभिन्न कार्यक्रम हुदैछ । यही बिषयमा गुगलपाटीले काजीमान थिंङ्ग तामाङ्गसंग कुराकानी गरेको छ । प्रश्तुत छ : सोही कुराकानीको सार संक्षेप :
बिश्व आदिवासी दिवस कसरी मनाउदै हुनुहुन्छ ?
संयुक्त राष्ट्रले घोषण गरे अनुसार बिश्वभरका आदिवासी जनजातीहरुले यो दिवस मनाउने हो । यस पटक २४ औं आदिवासी दिवस हामी मनाउदै छौं । बिश्वमा सरकारले नै अपनत्व लिएर यो दिवस मनाइन्छ तर नेपालमा यसो हुन सकेको छैन । नेपालमा आदिवासी जनजातीहरुको अधिकारमा लागेहरुको संघसंसंस्थाहरुको पहलमा यो दिवस यस पटक मनाइदैछ ।
नेपाल आदिवासी जनजाती प्रदेश नम्बर ३ र मकवानपुर जिल्ला समन्वय परिषदको आयोजनामा तीन दिवसीय कार्यक्रम गर्ने तयारीमा छौं ।
प्रदेश तीनलाई नेवा ताम्सालिंग नाउ राख्नुपर्ने माग गर्नुभएको छ नि किन ?
यो बिशेषगरी आदिवासी जनजातीहरुको भूगोल भएको र उनीहरुबाटै सिर्जित भएका र यो प्रदेशमा तामांग नेवारहरुकै बाहुलियता भएकाले माग गरिएको हो । यो कुनै जातीय नाउँ नभइ सभ्यताको नाउ हो । त्यसैले पहिचानको आधारमा प्रदेशको राजधानी बनाउने कुरा संबिधानमा पनि उल्लेख भएकाले यस्तो माग गरिएको हो । त्यसो त बाहुन क्षेत्री लगायतको सम्मानका लागि र बषौंदेखिको बिभेद अन्त्यका लागि पनि यो प्रदेशको नाउँ नेवा ताम्सालिंग राखिनुपर्छ भनेको हो ।
संभावना कत्तिको देख्नु भएको छ ?
हामीले जातीय रुपमा माग गरेको बिलकुल होइन । सभ्यता र समुदायका लागि माग गरिएको हो । एक जात,एक भाषाका बिरुद्ध समाज अगाडि बढेका कारण पनि अब पहिचानको आधारमा नाउँ राखिनु पर्दछ । यो जात नभइ सभ्यता भएकाले पनि यो जायज रहन्छ । मुलुकको मध्य भागमा रहेको यो प्रदेशको नाउँ यसैका आधारमा राखिनुपर्छ भन्ने माग हाम्रो हो ।
अनि नेवारी तामांग भाषा सरकारी कामकाजको भाषाको रुपमा माग गर्नुभएको रहिछ ,यो ठीक भयो र ?
हाम्रो संबिधानले नेपालमा बोलिने भाषालाई राष्ट्रिय भाषा भनिसकेको छ । अनि प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा यसैपनि सरकारी कामकाजको भाषा हुने कुरा संबिधानमा उल्लेख छ । त्यसो त यो भेगमा रहेका बाहुन,क्षेत्री लगायतका भाषाका लागि स्थानीय रुपमा प्रयोग गर्न सकिन्छ । त्यसैले पनि भाषिक रुपमा बिभेद नहोस् भन्ने हो । खस वा नेपाली भाषा नजानेकै कारण सेवा लिन पाएन भने राज्य कहाँ समृद्ध हुन सक्छ र ?
तीन नम्बर प्रदेशमा आदिवासी जनजाती सांसदकहरुकै संख्या बढी छ नि त होइन ?
हो,बहुसंख्यक छ । हामी सबै पार्टीको चुनावी घोषणा पत्र देखि सबैको कुरा हेरेका छौं । जस्तो डोरमणी पौडेल बाहुनको मात्रै भोट पाएका होइनन् । उनले गैर बाहुनको पनि मत पाएकाले उनले सम्मृद्ध मुलुकका लागि डोरमणी पौडेलले पनि ध्यान दिनुपर्छ । हामीले पार्टी नभनी डोरमणीलाई भोट दिएका हौं बाहुनको मात्रै भोटले डोरमणीले चुनाव जित्ने अवस्था आउन्थ्यो र ?
यो प्रदेशका आदिवासी जनजातीहरुको अवस्था कस्तो पाउनुभएको छ ?
आदिवासीहरुको एउटै अवस्था छैन । बहुसंख्यक छन् । कोही लोपउन्मुख छन् । कोही अति सीमांतकृत छन् । सीमान्तकृत समुदायमा बढी तामांगहरु पर्ने गर्दछन् । यो प्रदेशमा सबैभन्दा बढी तामांग नै छन् । साक्षरता दर हेर्ने हो भने सबैभन्दा बढी गरिब पनि यही समुदाय नै छ । अप्ठेरा ठाउमा तामांग बसेका छन् ।
अन्त्यमा केही भन्नु छ कि ?
अहिले बिश्वआदिवासी दिवसको २४ औं श्रृखला हुदैछ। संयुक्त राष्ट्रसंघले आदिवासीको बसाइसराइ र स्थानन्तरण भनेको छ । नेपालमा हामीले बिश्वको नारा आत्मसाथ गर्दै अधिकार,प्रतिनिधित्व र स्वायता स्वशासनका लागि आदिवासीको अडान मानव पहिचान सहितको संघीयताका लागिसंबिधान संशोधन भन्ने नाराका साथ यो दिवस मनाउदैछौं । साउन २२ गते र्याली सहित कोण सभा,२३ गते मुख्यमंत्रीलाइ ज्ञापन पत्र दिनेछौंं भने २४ गते बृहत कार्यक्रम पल्पसाहलमा गरिनेछ । यही भनाइ मार्फत आदिवासी र गैर आदिवासी सबैलाई कार्यक्रममा उपस्थित भइदिन अपील गर्दछु । गैर आदिवासी समुदायका साथीहरुले आदिवासी जनजातीहरु छिमेकी,साथी ठानेर कार्यक्रममा आइदिन्होला । धन्यवाद ।