थानकोट चित्लाङ सडक बनाउन प्रदेश सरकारद्धारा केन्द्र सरकारलाई आग्रह

गुगलपाटी संवाददाता
२२ श्रावण २०७५ ०१:२०

हेटौंडा, ऐतिहासिक गणेशमान सिंह मार्गको रुपमा रहेको र तराईबाट काठमाडैं जोड्ने सबभन्दा छोटो सडकको रुपमा रहकेो थानकोट–चित्लाङ सडक निर्माणमा यस वर्ष प्रदेश नम्बर ३ को सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

उक्त सडक हाल प्रदेश सरकारको नाममा आए पनि केन्द्रीय सरकारमार्फत बजेट विनियोजन भएर निर्माण जारी छ । उक्त आयोजनाका लागि नेपाल सरकारबाट १२ करोड ६९ लाख ७९ हजार प्रदेश सरकारलाई सशर्त अनुदान प्राप्त भएको छ । जबकि उक्त सडकको अनुमानित लागत १ अर्ब १३ करोड रहेको छ । अनुमानित लागतको तुलनामा प्राप्त रकम अत्यन्तै कम छ । यसमध्ये करिब २६ करोडको काम सम्पन्न भएर सडक विभागबाट भुक्तानी भएको भन्ने थाहा भएको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसबाट अझै ८८ करोड रुपियाँको काम हुन बाँकी रहेको छ । नेपाल सरकारले चित्लाङ–थानकोट सुरुङमार्ग निर्माण गर्ने गरी प्रारम्भिक कार्य सुरु गरेको अवस्थामा थानकोट–चित्लाङ सडक पनि केन्द्रीयस्तरले बजेट विनियोजन गरी निर्माण गर्न उपयुक्त देखिएको भन्दै प्रदेश सरकारले केन्द्र सरकारलाई पत्र पठाएको छ । सडक निर्माण सम्पन्न भइसकेपछि प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने पत्रको आशय छ ।

सडक पूरा गर्न प्रदेशस्तरको बजेटबाट ८८ करोड विनियोजन गर्न सक्ने स्थिति नरहेको तर, प्रदेशका लागि निकै महत्वपूर्ण उक्त सडक केन्द्रीयस्तरबाटै निर्माण कार्य सम्पन्न गरिदिन मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित आग्रह गरेका छन् । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।