विवेकशील साझामा बाझाबाझ, पूर्वगुट बल्झिएपछि समस्या
गुगलपाटी संवाददाताविवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले आइतबार बिहानै एउटा ट्विट गरिन्, जसमा उनले भनेकी छिन्– ‘विवेकशील साझा पार्टी निश्चितरुपमा संकटमा छ ।’
गत वर्ष काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जुले आफ्नो पार्टीभित्रको संकट सार्वजनिक गरिरहँदा विवेकशील साझा पार्टीको आन्तरिक कलहको सामाचार मिडियामा आइसकेको थियो । शुक्रबार केन्द्रीय कार्यालयमा सम्पादकहरुसितको छलफल सकिनासाथ कार्यकर्ता र नेतावीच कार्यालयभित्र बन्द कोठामा विवाद भएको थियो । शनिबार दिउँसो चाहिँ प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा गर्ने कार्यक्रममा खुल्लम खुल्ला नाराबाजी र होहल्ला भयो ।
उज्वल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दल र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीवीच एकीकरण भएको ठ्याक्कै एक वर्ष पुग्दै गर्दा पार्टिीभित्रको किचलो बाहिर आएपछि अनुशासन आयोगका संयोजक किशोर थापाको संयोजकत्वमा छानविन समितिसमेत गठन भएको छ ।
थापाले पार्टीभित्रका असन्तुष्ट कार्यकर्ताहरुको वयान लिने र तहकिकात गर्ने अधिकार पाएका छन् र उनले कामसमेत थालिसकेका छन् । विहीबार र शुक्रबार दुईदिन बस्ने केन्द्रीय कमिटीको बैठकमा थापाले प्रतिवेदन पेश गर्ने स्रोतले बतायो । पार्टीका केही सदस्यहरुले सार्वजनिक कार्यक्रममै नाराबाजी गरेपछि उनीहरुमाथि अनुशासनको कारवाही हुन सक्ने पार्टीको उच्च स्रोतले बताएको छ ।
विवेकशील साझा पार्टीले आउँदो विहीबार र शुक्रबार दुई दिन आयोजना गर्न लागेको बैठकको मुख्य एजेण्डा पार्टी एकीकरणपछिको एक वर्षबारे समीक्षा गर्ने रहेको स्रोतले बतायो । तर, बैठकअगावै विवाद देखिएपछि यसबारे किशोर थापाले प्रस्तुत गर्ने प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।