स्वास्थ्य बीमा कार्यक्रमले अस्पतालमा सेवा लिने बढे
गुगलपाटी संवाददाता हेटौंडा,२२ साउनमकवानपुर जिल्लाकै एकमात्र सरकारी हेटौँडा अस्पतालबाट सेवा लिने बिरामीको संख्यामा वृद्धि भएकोे छ। अस्पतालको सेवामा भएको सुधार तथा स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको संख्यामा वृद्धि भएको हो।
अस्पतालले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७४,०७५ मा २ हजार ५ सय ९९ जनाले अस्पतालको सेवा पाएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्यामा वृद्धि भएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०७३,७४ मा यो संख्या २ हजार १ सय ९८ रहेको थियो। यो संख्या गत आर्थिक वर्षको भन्दा ४ सय १ ले बढी हो।
आर्थिक वर्ष २०७४।७५ को चौमासिकमा ६ सय ७१, दोस्रो चौमासिकमा ८ सय ४४ र तेस्रो चौमासिकमा एक हजार ८४ जना गरी दुई हजार ९९ सय जनाले सेवा लिएको हेटौंडा अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। यीमध्ये आकस्मिकतर्फ पहिलो चौमासिकमा एक सय ५७, दोस्रो चौमासिकमा एक सय ४० र तेस्रो चौमासिकमा एक सय ७६ गरी कूल ४ सय ७६ जनाले सेवा पाएको उल्लेख छ।
अस्पतालले उपलब्ध गराउने सेवामध्ये बहिरंगमा पहिलो चौमासिकमा ४ सय १८ जनाले सेवा लिएका थिए भने दोस्रो चौमासिकमा ५ सय ३८ जना र तेस्रो चौमासिकमा ६ सय १ गरी एक हजार पाँच सय ५७ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। भर्ना गरी उपचार सेवा लिने सेवाग्राहीको पनि वृद्धि भएको पाइएको छ।
चौमासिकमा ९६ जना बिरामी भर्ना भई सेवा लिएकामा दोस्रो चौमासिकसम्म पुग्दा यो संख्या बढेर एक सय ६६ पुगेको थियो। तेस्रो चौमासिकमा ३ सय ७ जना थपिएसँगै कूल ५ सय ६९ जनाले भर्ना भएर उपचार सेवा पाएका छन्। हरेक वर्ष निःशुल्क तथा आधा शुल्कमात्र तिरेर उपचार गराउनेको संख्या बढेसँगै अस्पतालको आर्थिक दायित्व वृद्धि भएको अस्पताल प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कमल दवाडीले जानकारी दिए।