माओवादीका प्रवक्ता पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
२३ श्रावण २०७५ १०:५६

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)पक्राउ परेका छन् । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता विश्वकर्मालाई मंगलबार बेलुकी प्रहरीले दक्षिणकालीबाट पक्राउ गरेको हो ।

चन्दा संकलन, मुलुकको शान्ति सुरक्षा खल्बल्याउने गतिविधि गरिरहेको भन्दै पछिल्लो समय सरकारले नेकपाका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको छ ।
यसैबीच, बिनाकारण आफ्ना नेतालाई पक्राउ गरेको आरोप लगाउँदै नेकपाले भर्त्सना गरेको छ ।
महासचिव नेत्रविक्रम चन्दले बुधबार विज्ञप्ति निकालेर विश्वकर्मा लगायतलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । उनले राजनीतिक अधिकारमाथि एक पछि अर्को गर्दै सरकारले प्रतिबन्ध लगाइरहेको भन्दै प्रतिकार गर्न लोकतन्त्रवादी र देशभक्तहरुलाई आह्वान गरेका छन् ।

 बन्दको घोषणा
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा पार्टीले नेपाल बन्दसहित विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै उक्त पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

प्रवक्तासँगै पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति निकालेर विप्लवको पार्टीले आन्दोलनको घोषणा गरेको हो।

विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक भएको छ। जसअनुसार साउन २५ देखि कोणसभाबाट सुरु भएको विरोध कार्यक्रम २९ गते नेपाल बन्दसम्म छ। विप्लवले साउन २५ गते देशभर कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको घोषणा गरेका हुन्।