बिरामी नेता भेटेपछि प्रचण्डले भने,हेटौंडा राजधानी हुँदा म खुशी छु
गुगलपाटी संवाददाता हेटौंडा,६ चैत्रनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा हुँदा आफु खुशी भएको बताएका छन् । हेटौंडा अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्र मकवानपुरका नेता रामकृष्ण श्रेष्ठलाई भेट गरेपछि मंगलबार साँझ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हेटौंडा राजधानी हुँदा म खुशी नै छु ।’ क्यान्सर पीडित श्रेष्ठको स्वास्थ्य अवस्थामा खराबी आउन थालेपछि हेटौंडा अस्पताल भर्ना गरिएको हो ।
प्रचण्डले सञ्चारकर्मीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गर्दै राजधानीको लागि हेटौंडा उपयुक्त रहेको समेत बताए । साथै उनले हेटौंडा अस्पतालको स्तरउन्नती गर्नेतर्फ आफ्नो ध्यान गएको बताए । ‘प्रदेश राजधानी रहेको शहरमा राम्रो अस्पताल चाहिन्छ, यसको स्तरीकरण गर्नेतर्फ मेरो ध्यानाकर्र्षण भएको छ’, उनले भने । हुलाकी राजमार्गको कार्यक्रम सकाएर सिराहबाट प्रचण्ड मंगलबार दिउँसो हेटौंडा आएका हुन् । उनी भोली बुधबार बिहानै काठमाण्डौं जाने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।