नेतृत्व चयनमा नेकपाभित्र सकस
गुगलपाटी संवाददाता हेटौंडा,२४ साउन
एमाले र माओवादी केन्द्रबीच एकतापछि गठन भएको नेपाल कम्यूनिष्ट पार्टी मकवानपुरको नेतृत्व चयनमा सकस देखिएको छ ।
नेकपा मकवानपुरको नेतृत्वका लागि बिहीबार हेटौडामा तत्कालिन एमालेको बैंठक बसेको छ । एमालेको बैठकले नेतृत्वका लागि केन्द्रमा बनेको प्रदेश ३ को कार्यदललाई पठाउने नामको टुंगो लगाउन नसकेको हो । नेकपा मकवानपुरको नेतृत्व पुराना एमालेका नेताले गर्नेछन् । तर पटकपटक छलफल भएपनि कसलाई नेतृत्वका लागि पठाउने भन्ने ढुंगो नलागेको एक नेताले जानकारी दिए ।
एमालेबाट नेतृत्वका लागि श्रीधर पोखरेल, मुनु सिग्देल, एकलाल श्रेष्ठ र बद्री लम्सालको दाबी रहेकोछ । बैठकमा अवसर नपाएकाले पाउनुपर्ने विषय उठेपनि सुनुवाइ हुन नसकेको जनाइएको छ ।बैंठकमा पार्टीमा अवसर पाइरहेकाले पनि नेकपाको नेतृत्वमा दाबी गरेपछि समस्या भएको जनाइएको छ । कार्यदललाई जिल्लाबाट २५ गतेभित्र नाम पठाइसक्नु पर्ने छ । अहिलेको संरचनामा नेकपाको जिल्ला अध्यक्ष र सचिव रहनेछन् ।