हेटौँडा बजारका टाटासुमो काउन्टरहरु एकीकृत हुँदै
गुगलपाटी संवाददाता मकवानपुर,२४ साउनहेटौँडा उपमहानगरभित्र असरल्ल रुपमा रहेका टाटासुमो काउन्टरहरुलाई एकै ठाउँमा स्थापना गरी व्यवस्थापन गरिने भएको छ । आगामी भदौ १ गतेबाट एकीकृत काउन्टर सञ्चालन हुनेछन् ।
उपमहानगरपालिकाले बजार क्षेत्रको अस्तब्यस्ता पार्किङ समस्यालाई समाधान गर्नका लागि सुमो टिकट काउन्टरहरु एकीकृत गर्न लागेको हो । हेटौँडा उपमनगरपालिका वडा नं १ स्थित हेटौँडा–काठमाडौँ रोप वे नाममा रहेको खाली क्षेत्रमा सुमो काउन्टरहरु स्थापना गर्नका लागि उपमहानगरपालिकाले रोप वेसँग समन्वय गरेको उपमहानगरपालिकाले जनाएको छ । हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य तथा ४ नं वडा अध्यक्ष नवीन सिग्देलका अनुसार बजार क्षेत्रमा जथाभावी पार्किङ हुने र बजारमा हुने आवतजावतलाई असर पार्ने भएकाले सुमो काउन्टरहरुलाई एकीकृत गर्न लागिएको हो ।
अहिले हेटौँडा १० बसपार्क, हेटौँडा ३ उद्योग वाणिज्य चोक, पीपलबोट, मेनरोड, टिसिएनरोड लगायत स्थानहरुमा टाटासुमोका काउन्टरहरु चलिरहेका छन् । हेटौँडामा विभिन्न कम्पनीका गरी ४५० वटा टाटासुमोहरु नियमित रुपमा हेटौँडा–फाखेल–काठमाडौँ र हेटौँडा–सिस्नेरी–काठमाडौँ तथा त्रिभूवनराजपथको रुट भएर सञ्चालनमा रहेका छन् । टाटासुमो व्यवसायीहरुसँग छलफल गरी समन्वयमा नै ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी टिकट काउन्टर एकीकृत गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । एकीकृत काउन्टर सञ्चालनमा आएपछि यात्रुहरु ठगिएका गुनासोहरुमा पनि कमी आउने उपमहानगरपालिकाले आशा गरेको महतले बताए ।
३ नं प्रदेशको राजधानी भएपछि सांसद, मन्त्री तथा संवैधानिक निकायका व्यक्तिहरुको आवागमन बढेको छ । त्यसैगरी २ नं प्रदेशका विद्यार्थीहरुको शैक्षिक गन्तब्यको रुपमा हेटौँडा बिकसित हुँदै गइरहेकाले दिनानुदिन भीड बढ्दो क्रममा रहेको छ ।