मंत्रीले भने : चिउरीबाट मौरीपालन

जयराम मोक्तान मनहरी,२५ साउन
२५ श्रावण २०७५ १२:४०

३ नं प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दाबादोर्जे लामाले मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिका क्षेत्रमा पाइने चिउरीको संरक्षण गरी मौरीपालनमार्फत आर्थिक सम्बृद्धि हासिल हुने बताएका छन् ।
राष्ट्रिय वन दिवसको अबसरमा शुक्रबार मनहरी गाउँपालिका ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा फलफुलका बिरुवा रोप्दै उनले अब आर्थिक सम्बृद्धिका लागि वनलाई अधिकतम उपयोग गरी अघि बढ्नुपर्नेमा जोड दिए । उनले बैज्ञानिक वन व्यवस्थापनमार्फत काष्ठ उत्पादनबाट मात्रै वन समूहहरुमा रकम भित्रिएको प्रसंग उठाउँदै फलफुलबाट सम्बृद्धि ल्याउने सपना प्रदेश सरकारले देखेको बताएका छन् । जननेता स्वर्गीय मदन भण्डारीको जन्मोत्सवको अबसर पारेर प्रदेश ३ ले गत असार १४ गते फलफुल बर्षको रुपमा चालू आर्थिक बर्षलाई घोषणा गरी अघि बढेको उनले सुनाए । ‘हामी हरेक जिल्लाका गाउँपालिकाहरु तथा वन समूहहरुमार्फत फलफुल रोपेर आर्थिक उपार्जनको उपाय खोजिरहेका छौँ’, मन्त्री लामाले भने–‘फलफुलका बिरुवाको पीर नलिनुस्, प्रदेश सरकारले व्यवस्था गर्नेछ ।’ उनले वन समूहहरुमा हुने फलफुल खेतीमा रुख वन समूहको हुने र फल चाहिँ किसानको हुने बताए ।
कार्यक्रममा ३ नं प्रदेश सांसद ओमबहादुर घलान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदाल, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, वडा अध्यक्षहरु, वन कार्यालयका प्रतिनिधिहरु तथा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रघुनाथ रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रमपछि स्थानीय उपभोक्ताहरुले आँप, कटहर, लिची लगायतका २५० वटा फलफुलका बिरुवा रोपेका छन् ।