भारतका ७५ जना बरिष्ठ कवि भोली हेटौंडा आउने
गुगलपाटी संवाददाता हेटौंडा,२५ साउनभारतका ७५ जना बरिष्ठ कवि भोली शनिबार हेटौंडा आउने भएका छन् । तीन दिने नेपाल भारत साहित्य महोत्सव अन्तर्गत नेपाली कविहरुसँगको साहित्यिक जमघट र साहित्यिक विवेचनाको लागि उनीहरु हेटौंडा आउने भएका हुन् ।
हेटौंडा एकेडेमीको संयोजनमा भोली बिहान ११ बजेदेखि दुई बजेसम्म हेटौंडा ११ स्थित एकेडेमीमा कार्यक्रम हुनेछ । एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले सम्मेलनमा भारतीय बरिष्ठ साहित्यकार डा. बिजय पण्डितको अध्यक्षतामा कविहरु हेटौंडा आउने बताए । ७५ सदस्यीय टोलीमा डा. चन्द्रकान्त श्रीवाल (दिल्ली), वर्षा उन्वत्कर (महाराष्ट्र), डा दिग्वीजय शर्मा(आग्रा), डा.सरोजनी तनहा, डा. योगेन्द्रनाथ शर्मा (अरुण), सन्जय हाण्डा लगायत रहेका छन् ।
कार्यक्रमा नेपालका कविहरु राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पुर्व सचिव सनत रेग्मी, नेपाली गजलमा पहिलो विद्यावारिदी गर्ने बरिष्ठ गजलकार घनश्याम परिश्रर्मी, लघुकवितामा पहिलो विद्यावारिदी गर्ने पुष्कर भट्ट, बीरगंगका बरिष्ठ साहित्यकार गोपाल अक्स रहेका छन् । अन्य नेपाली साहित्यकारहरुमा डा. स्वेप्ता दिप्ती, राम दयाल राकेश, डा. कञ्चना झा, संगिता ठाकुर, लिलानाथ गौतम, रबिन्द्र झा, राजन रायन यादव, पि झा लगाय रहेका छन् ।
दिवाभोजपछि भारतीय साहित्यकारलाई हेटौंडाको शहीद स्मारक, कुष्माण्ड सरोवर लगायत पर्यटकीय स्थलको भ्रमण गरी बिदाई गरिने अध्यक्ष सुमार्गीले बताए । हेटौंडाको कार्यक्रमपछि भारतीय कविहरु बीरगंजमा साउन २७ र २८ गते हुने नेपाल भारत साहित्यक महोत्सवमा सहभागि हुने उनले जानकारी दिए ।