मकवानपुरका पुर्जाबिहीन जग्गाधनी
गुगलपाटी संवाददाता हेटौंडाउमेरले डाडो काटिसक्दा पनि उनको हातमा जग्गाधनी पुर्जा हात परेको छैन । उनका बाबुबाजे पनि लालपूर्जा नपाइकनै बिते । लालपूर्जा हातमा नपरी आफू पनि बित्ने हो कि भन्ने पीरले बकैया गाउँपालिका–२ साविकको धियाँल ३ का ७९ वर्षीय सेते दोङ चिन्ता लिन थालेका छन् ।
उमेर जति उकालो लाग्दै जान्छ उतिकै गतमा उनको पीर बढ्दै जान्छ । दोङ मात्र हैन साविकको धियाँल ४ तिनभंगालेका ६६ वर्षीय नरबहादुर लामासँग पनि घरजग्गाको लालपूर्जा छैन । लामाको परिवार पनि यहाँ पुस्तौंदेखि बस्दै आएको छ । मकवानपुरको पूर्वी गाउँ बकैया गाउँपालिका १ र २ मा पर्ने साविधक धियाँ गाविसका ९७ प्रतिशतको अवस्था सेते र नरबहादुरको भन्दा फरक छैन ।
एक शताब्दीदेखि भोगचलन गर्दै आएको जमिन र आश्रय लिँदै आएको घरको स्वामित्व धियाँलबासीमा छैन । भुक्षयका कारण जमिन नै संकटमा परेको साविकको धियाँल गाविसमा ०६८ को जनगणनाअनुसार एक हजार ८० परिवार बसोबास गर्छन् । लालपूर्जाको समस्या धियाँलबासीको मात्र हैन चुरे क्षेत्रमा बसोबास गर्ने ३५ हजार परिवार यस्तै समस्यामा परेका छन् ।
आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले हेटौंडाबाट समाचार लेखेका छन् ।