तासको खालबाट जनप्रतितिधि नै समातिए
गुगलपाटी संवाददाता हेटौंडाउत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १, ओखरबजारस्थित सयपत्री होटलमा तास खेल्दै गरेका अवस्थामा जनप्रतिनिधिसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयराम श्रेष्ठ, सुन्दर प्रधान, केदार कार्की, चन्द्रबहादुर गोले, वीरसिंह गोले, धनबहादुर गोले, सुब्बा गोले, सलाउद्धिन मिया, सोम तामाङ र धनबहादुर गोले छन् । धनबहादुर वडा नम्बर ११ र सुन्दर वडा नम्बर १ का निर्वाचित वडा सदस्य हुन् ।
उनीहरुको साथबाट २ लाख ६७ हजार ८ सय १५ रुपियाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोली शनिबार दिउँसो सयपत्री होटल पुगेको थियो ।
पक्राउ परेका सबैलाई शनिबार नै राति हेटौंडा ल्याइएको छ । उनीहरुलाई कानुनबमोजिम कारबाही हुने मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।