मंत्रीले भने : युवा खोजीका लागि दश करोड
गुगलपाटी संवाददाता हेटौंडा,२७ साउनप्रदेश नम्बर तीनका सामाजिक बिकास मंत्री युवराज दुलालले बेरोजागरी समस्या समाधानका लागि कुनै योजना भए आफूहरु कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।
१९औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दुलालले युवा वैज्ञानिक प्रोत्साहन कोष अन्तर्गत प्रदेश सरकारले १० करोड रुपैयाँ रकम बजेट छुट्याएको जानकारी गराउँदै सामाजिक विसका मन्त्री दुलालले– प्रदेश सरकारले रोजगार सृजना गर्ने आइडियाका लागि सो रकम खर्चिने जानकारी गराएका थिए ।
कोषबाट युवाहरुको सृजना, प्रतिभामा लगानी गरिने मन्त्री दुलालको भनाई छ । युवाहरुमा नवीन सोच र रोजगार सृजना गर्ने योजना छन्, भने सामाजिक विकासको कुनैपनि क्षेत्रमा सो कोषमार्फत आवश्यकता अनुसार लगानी गर्न प्रदेश सरकार तयार रहेको उनले स्पष्ट पारेका छन् ।
मुलुकमा एकातिर बढ्दो युवा बेरोजगारी र अर्कोतर्फ हरेक क्षेत्रमा दक्ष जनशक्ति अभाव भइरहेको बारे कुरा गर्दै मन्त्री दुलालले यसैवर्ष प्रदेशमा चाहिने जनशक्तिको प्रक्षेपण गरिने बताए । मन्त्री दुलालले युवाको परिभाषा उमेरसँग मात्र सिमित नगर्न पनि सुझाव दिए । युवा हुनका लागि युवा उमेरका साथै युवा सोच पनि जरुरी रहने उनको तर्क थियो । देश विकासका लागि गफभन्दा पनि काम गर्ने युवा चाहिएकोमा मन्त्री दुलालले जोड दिए ।
१९औं अन्तर्राष्ट्रिय युवा दिवस मुल आयोजक समितिका संयोजक तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तरीय र ब्यवहारिक शिक्षाको विषमा शम्भु पौडेल, रोजगारी उद्यमशीलता र सीप विकासबारे घरेलु तथा साना उद्योग कार्यालयका चन्दनकुमार अमात्य, युवा परिचालन, सहभागिता र नेतृत्व विकासको विषयमा जीवन शर्मा र खेलकुद तथा मनोरञ्जनको विषयमा राजन दाहालले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा उपस्थित युवाहरुले विषयगत रुपमा कार्यपत्र प्रस्तुतकर्ता तथा सामाजिक विकास मन्त्री दुलाललाई सम्बन्धित प्रश्नहरु गरेका थिए ।