स्थानीय पत्रपत्रिका: भूकम्पपीडितलाई वर्षाको सकसदेखि उपमहानगरको अधुरा योजना
गुगलपाटी संवाददाता हेटौंडाआज हेटौंडाबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले फरकफरक विषयालाई आफ्नो प्रमुख समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकले भूकम्पपीडित चेपाङ समुदायलाई वर्षामा टहरो मुनि बस्नुपर्दा सकस भएको समाचार छापेको छ ।
यसैगरी नेकपाको मकवानपुरका सचिवको लागि तत्कालीन माओवादीभित्रका आधा दर्जन आकांक्षी रहेको समाचार पनि साझाकुराले पहिलो पृष्ठमा छापेको छ । हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशका १३ जिल्लामा १५ वटा डिभिजन वन कार्यालय रहने प्रशंगलाई मुख्य समाचार बनाएको छ । १५ वटा डिभिजन वन अन्तर्गत ९६ वटा सव डिभिजन वन कार्यालय रहने पनि समाचारमा जनाइएको छ । त्यसैगरी एक सय १३ किलो गाँजासहित मनहरीमा एक ट्रक चालक पक्राउ परेको समाचार पनि सन्देशले पहिलो पृष्ठमै छापेको छ । त्यसैगरी समृद्ध समाजले आज ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्ने प्रशंगलाई प्रमुख समाचार बनाएर छापेको छ ।
प्रदेशको नियमावली संशोधन गर्न गठित समितिको म्याद थप १५ दिन थपिएको समाचारमा उल्लेख छ । त्यसैगरी प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्न सम्बन्धमा बनेको विधेयकमाथि नेपाली काँग्रेस विवेकशीलका सांसदले विरोध सूचना दिएको प्रशंग पनि समाचार बनेको छ । त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको गत वर्ष २९ प्रतिशत योजना अधुरै रहेको समाचार पनि समृद्धले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।
हेटौंडाबाट प्रकाशित प्रदेश दैनिकले भने हेटौंडा बजारमा नो पार्किङको विषयमा भएको आन्दोलन स्थगित भएको र आजबाट बजार खुल्ने समाचारलाई मुख्य समाचार बनाएको छ । उपभोक्तालाई एकतर्फी पार्किङ गर्न दिने उपमहानगरसँग सहमति भएको प्रदेशले समाचारमा लेखेको छ । युवा लक्षित कार्यक्रममा प्रदेश सरकारको चासो भन्ने शीर्षकमा युवा दिवस मनाइएको सम्बन्धी प्रशंगलाई पनि प्रदेश दैनिकले पहिलो पृष्ठमा छापेको छ ।
हेर्नुस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको आजको अंकको पहिलो पृष्ठ