प्रदेश तीनको संसद बैठक : चार बिषयमा छलफल
गुगलपाटी संवाददाता हेटौंडा, २८ साउन३ नम्बर प्रदेश सभाको बैठकमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ ।
करिब एक महिनापश्चात् सुरु भएको प्रदेश सभाको बैठकमा दर्ता भएका विधेयकमाथि सांसद्हरुले सैद्धान्तिक छलफल सुरु गरेका हुन् । बैठकमा ‘मुख्यन्यायधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक’, ‘प्रदेश सभा सचिवालय सम्बन्ध मा व्यवस्था गर्न बनेको विधेयक’ तथा प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश भएको थियो ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले ‘मुख्यन्यायधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको समितिले बनाएको प्रतिवेदन पेश गरेका थिए । ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक’ तथा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तथा ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरेका थिए ।
यसैगरी नेपाली काँग्रेसकी सांसद् राधा घले र विवेकशील साझा पार्टीका सांसद् रमेश पौड्यालले आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेलले सांसद्मा दर्ता गराएको ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विरोध प्रस्ताव सदनमा दर्ता गराएकापनि बहुमतले अस्वीकृत गरिदिएको थियो । ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसद्हरु सत्तापक्ष र विपक्षको रुपमा प्रस्तुत भएका थिए ।
विपक्षी सांसद्हरुले सदनलाई विजनेसविहीन बनाउन र सरकारले आफूसँग भएको बहुमतको दम्भ देखाएर संसद्मा ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याएकोभन्दै टिप्पणी गरेका थिए । सत्तापक्षका सांसद्ले भने देशमा अझै संक्रमणकालमा रहेको, प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई लागू गर्नका लागि उक्त विधेयक ल्याएकोभन्दै बचावट गरेका थिए ।
‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि आफ्नो धारणा राख्ने क्रममा सांसद् सुरेन्द्रराज गोसाईं, रिना गुरुङ, प्रभात तामाङ, पुकार महर्जन, नरुत्तम वैद्य, रिता माझी, जीवन डंगोल र विजुला बर्माले विरोध जनाएका थिए । सत्तापक्ष सांसद् मीना ज्ञवाली, सरेश नेपाल, नारायण सिलवाल र दीपक निरौलाले बचावट गरेका थिए ।