प्रदेश तीनको नाउँ बाग्मती वा नारायणी हुने,राजधानी धुलिखेल सारिने
गुगलपाटी संवाददाता हेटौंडा,३० साउनप्रदेश नम्बर तीनको नाउँ र राजधनीको बिषयमा भित्री रुपमा छलफल भएको पाइएको छ ।
देशको राजधानी तथा तीन महानगरसहित अनेकौँ महत्वपूर्ण शहरहरू रहेको प्रदेश नम्बर तीनको राजधानी र नामबारे आममानिसमा चासो प्रकट हुन थालेको छ । हालसम्म प्रदेश ६ र चार नम्बरले आफ्ना नाम र राजधानी (कर्णाली) र गण्डकी तय गरिसकेका छन् भने अन्य पाँचवटा प्रदेशले यस विषयमा औपचारिक बहस–छलफलसमेत प्रारम्भ गरेका छैनन् । बाँकी पाँचवटै प्रदेशमा राजधानी र नामका विषयलाई लिएर विवाद तथा तनाव उत्पन्न हुने ठानिएको छ ।
प्रदेश तीनले राजधानीबारे यकिन गर्न सकेका छैन। दुई र सात नम्बर प्रदेशमा पनि स्थायी राजधानी तोकिने क्रमसँगै पुनः तनाव पैदा हुने सम्भावना छ । प्रदेश एकले मोरङको पूर्व–पश्चिम राजमार्ग आसपास या इटहरीसम्मलाई समेटेर राजधानी बनाउनेबारे विचार गरिरहेको बुझिन्छ ।
तीन नम्बर प्रदेशको नाम बागमती या नारायणी हुने सम्भावना ज्यादा देखिएको छ । कसैले नेपाल मण्डल, कसैले पाशुपत प्रदेश, कसैले ताम्सालिङ, कसैले राजधानी प्रदेश त कसैले शैलुङ नाम सुझाएका भए पनि अन्ततः सबैलाई स्वीकार्य हुने गरी बागमती या नारायणी नदीकै नामबाट प्रदेशको नामाकरण हुने सम्भावना छ । तर, राजधनीका विषयमा भने तीन नम्बर प्रदेशमा एकपटक ठूलै तनाव पैदा हुने स्थिति छ ।हेटौँडाले हेटौँडा नै स्थायी राजधानी बन्ने ठानेको भए पनि अब प्रदेश राजधानी हेटौँडाबाट सर्ने प्रायः निश्चित भएको छ । नुवाकोट र भक्तपुरलाई समेत सम्भावित राजधानीका रूपमा हेरिएको भए पनि अन्ततः काभ्रेको धुलिखेल–बनेपा क्षेत्रलाई राजधानी बनाइने भएको छ ।
आगामी केही साताभित्रै नाम र राजधानी तय गर्ने आन्तरिक गृहकार्य राजनीतिक वृत्तमा चलिरहेको पाइएको छ ।