आजको स्थानीय पत्रिकाः चासोमा परेन चेपाङ संग्रहालय, पुनर्निर्माणमा लचकता अपनाउन सुझाव

गुगलपाटी संवाददाता
३१ श्रावण २०७५ ०१:५१

हेटौंडाबाट आज प्रकाशित स्थानीय पत्रपत्रिकाले फरक फरक प्रसंगलाई प्रमुख समाचार बनाएका छन् । साझाकुरा दैनिकले राक्सिराङ गाउँपालिकामा रहेको चेपाङ संग्रहालय कसैको चासोमा नपरेको समाचार छापेको छ ।

९ वर्षअघि निर्मित चेपाङको परम्परा र सांस्कृतिक महत्वका बस्तुहरु राखिएको संग्राहलयको स्तरोन्नती गर्न र पर्यटक भित्र्याउन स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो दिएको छैन । संघीय संरचनामा गइसकेपछि कुनै पनि सरकारले संग्रहालयको संरक्षण र प्रवद्र्धन गर्न चासो देखाएको छैन ।

त्यसैगरी हेटौंडा सन्देश दैनिकले नेकपाको मकवानपुर नेृतृत्वको लागि तत्कालीन एमाले र माओवादीबाट नाम सिफारिस गरेको समाचार प्रथम पृष्ठमा छापेको छ । एमालेबाट ३ जना र माओवादीबाट ६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो । जिल्लामा सहमति नजुटेपछि आकांक्षी सबैको नाम पठाइएको जनाइएको छ ।

त्यसैगरी आजको समृद्ध समाज दैनिकले नक्सापासलगायतको भूकम्पपछिको पुननिर्माणको हकमा लचकता अपनाउन सुझाव दिइएको सम्बन्धी प्रसंगलाई प्रमुखताका साथ छापेको छ । जिल्ला पुननिर्माण सहजीकरण समितिको बैठकले उपमहानगरलाई सुझाव दिने निर्णय गरेको हो ।
हेर्नुस्, आजका स्थानीय पत्रिकाका पहिलो पृष्ठ