आवधिक योजना बनाउँदै नीति तथा योजना आयोग
गुगलपाटी संवाददाता हेटौंडा, ३१ साउनप्रदेश तीनको नीति तथा योजना आयोगले आवधिक योजना बनाउने तयारी सुरु गरेको छ । गठन भएको ४५ दिनभित्र प्रदेश तीनको वस्तुस्थिति सार्वजनिक गरेको नीति तथा योजना आयोगले ५ वर्षे आवधिक योजना बनाउने तयारी सुरु गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नीति तथा योजना आयोगले विज्ञसहितको समूहले योजनाको तयारी सुरु गरेको जनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष प्रा डा पिताम्बर शर्माको संयोजकत्वमा विज्ञ समूह गठन भएको छ ।
समूहमा नेपाल सरकारका पूर्व सचिव पुर्णचन्द्र भट्टराई, वातावरण विज्ञ डा. दिनेश भुजु, अर्थ विज्ञ डा. कमल वास्कोटालगायत रहेका छन् । विज्ञ समूहले सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ सहित प्रदेश सभाका विषयगत समितिका सभापति र सदस्यहरुसँग समेत परामर्श गरेको छ । नीति तथा योजना आयोगले सबै मन्त्रालयहरुमा आफूले गर्न लागेको कामको विषयमा जानकारी गराएको छ ।
नीति आयोगले मन्त्रालयगत रुपमा अवधारणापत्र तयारी सम्बन्धमा सहजीकरणसमेत गरेको थियो ।