छिटो फल लाग्ने महँगो स्याउ बोट
गुगलपाटी संवाददाताकाठमाडौँ — सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ ।
तर, गत वर्ष उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत लगाएको स्याउ एक वर्षमै फलेपछि उनी दंग छन् । अघिल्लो वर्ष १ सय ५० बोट बिरुवा लगाएका उनले यो वर्ष ५ सय १० बोट थपे ।
‘सुरुमा कस्तो हुने हो भनेर थोरै बिरुवा लगाएँ,’ शेर्पाले भने, ‘तर, एकै वर्षमा राम्रो फल्यो, त्यही भएर यो वर्ष बिरुवा थपें ।’ पछि लगाएको स्याउमा पनि फल लागेको छ ।
तर, बिरुवा किनेर रोप्ने ठाउँसम्म ढुवानी गर्दा एउटै बोटको २ हजार पर्छ । ‘बिरुवा इटालीबाट आयात गरेको हो,’ उनले भने, ‘धेरै महँगो पर्ने हुँदा थप्ने चाहना हँदाहुँदै पनि सकिएको छैन ।’ गाउँमा अन्य किसानले पनि थोरै मात्रमा उच्च घनत्वको स्याउ लगाएका छन् । ‘यो ठाउँमा पर्यटक धेरै आउँछन्,’ उनले भने, ‘त्यसैले स्याउको माग पनि धेरै छ, गाउँघरमै यसको खपत बढी छ, बजारको समस्या छैन ।’ उनले उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत गोल्डेन डेलिसियस, फुजी, गाला, रेड डेलिसियस जातका स्याउ लगाएका हुन् ।
बागबानी केन्द्र सोलुका प्रमुख चन्द्रमान श्रेष्ठका अनुसार जिल्लाभर उच्च घनत्वको स्याउ प्रविधिमा ४ हजार बोट स्याउ लगाइएको छ । ०७३/०७४ सालबाट बागबानी केन्द्रमा यो प्रविधिमा स्याउ लगाइएको हो । ‘अहिले यस केन्द्रमा गोल्डेन डेलिसियस र फुजी जातको स्याउ लगाइएको छ,’ उनले भने, ‘परीक्षणका रूपमा लगाएको हो, राम्रो फलेको छ ।’ उनका अनुसार उच्च घनत्वको स्याउ प्रविधिमा स्याउ लगाउने बिरुवा नेपालमा उत्पादन हुँदैन । इटालीबाट आयात गर्ने गरिएको छ । यो समस्या सोलुको मात्र होइन । स्याउ उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका जिल्लामा यो स्याउ लगाइएको छ ।
लगाएको एक वर्षमै फल्ने प्रविधि रोजाइमा परे पनि बिरुवा महँगो पर्ने हुँदा किसानले चाहेर पनि ठूलो परिमाणमा लगाउन सकेका छैनन् । त्यस्तै यो यो प्रविधिमा स्याउ लगाएपछि तारबारको राम्रो प्रबन्ध मिलाउनुपर्ने हुन्छ । बढी लगानी हुने भएकाले खेती किसानमैत्री बन्न सकेको छैन । किसानको माग सरकारी सहयोगमा नेपालमै बिरुवा उत्पादन गरेर सस्तोमा उपलब्ध गराउनुपर्ने भन्ने छ ।
अहिले किसानको मागअनुसार बिरुवा एग्रो मनाङले उपलब्ध गराउँदै आएको छ । एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार उच्च घनत्वको स्याउ प्रविधिमा स्याउ रोप्ने किसानलाई फोनबाट भए पनि प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ । ‘बिरुवा महँगो भएकाले माग गर्ने किसान कम छन्,’ उनले भने, ‘लगानी पनि बढी पर्ने भएकाले थोरै किसानले मात्र यो स्याउ लगाएका छन् ।’ सबैभन्दा बढी एग्रो मनाङले लगाएको छ ।
प्रबन्ध निर्देशक गुरुङका अनुसार एग्रोले मनाङको भ्राताङमा उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत ५ सय ५० रोपनीमा ६८ हजार बिरुवा लगाएको छ । ‘सुरुमा इटाली र सर्बियाबाट बिरुवा ल्याएर रोपेका हौं,’ उनले भने, ‘स्याउ राम्रो फलेको छ, यो वर्ष ५ सय टन उत्पादन हुने अनुमान गरेका छौं ।’ बिरुवा ल्याएर लगाउनेदेखि काँटछाँट, कोल्ड स्टोर बनाउनसमेत गरेर अहिलेसम्म ३० करोड लगानी भएको उनले बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।