अटल बिहारी बाजपेयी: जसले भारत-पाकिस्तान सम्बन्ध सुधारको प्रस्थानविन्दू नेपाललाई बनाए
गुगलपाटी संवाददातातीन पटक भारतको प्रधानमन्त्री भएका अटल बिहारी बाजपेयी बिहीबार अपरान्ह यो धर्तिबाट विदा भए, ९३ बर्षको उमेरमा। बाजपेयीको व्यक्तित्वको एउटा महत्वपूर्ण पाटो हो, जसलाई भेट्यो उसलाई प्रभावित पार्नसक्ने अद्धितीय खुबी।
काठमाडौँका मिलन तुलाधरपनि बाजपेयीसँगको पहिलो भेटमै प्रभावित हुनेमध्ये एक हुन्। तुलाधर झलनाथ खनाल प्रधानमन्त्री छँदा विदेश मामिला सल्लाहकार र पूर्व एमालेको विदेश विभागमा लामो समय काम गरेका बौद्धिक व्यक्तित्व हुन्।
तुलाधरले सन् १९८० मा बाजपेयीलाई दिल्लीमा भेटेका थिए। त्यो बेला भारतमा लोकसभा निर्वाचन हुँदैथियो। बाजपेयी दिल्लीको लोदी कोलोनी निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) को उम्मेदवार थिए।
सन् १९७७ को निर्वाचनमा विजय हासिल गरेको जनता पार्टी विभाजित भएपछि बाजपेयी भाजपाको तर्फबाट सो निर्वाचनमा उम्मेदवार बनेका थिए। तुलाधर चाहिँ चार्टर्ड एकाउन्टेन्सी अध्ययनको सिलसिलामा बाजपेयीको निर्वाचन क्षेत्रमै रहेको सुधीर मोहलीको घरमा बस्थे।
संयोगवस बाजपेयी सुधीर मोहलीको घरमापनि भोट माग्दै आइपुगे। जनता पार्टीको सरकार छँदा विदेशमन्त्री रहेका बाजपेयीलाई मोहली परिवारले आफ्नो घरमा स्वागत गर्यो। विजयको शुभकामना दिँदै मोहलीले बाजपेयीलाई लड्डुपनि खुवाए।
बाजपेयी मोहलीको घरमा भोट माग्दै आउँदा तुलाधरपनि मोहलीसँगै थिए। मोहलीले ‘नेपालबाट आएका मेरो साथी’ भन्दै तुलाधरको परिचय बाजपेयीसँग गराइदिए। ‘नेपालबाट आएका साथी’ भनेपछि बाजपेयीको कान ठाडो भइहाल्यो।
‘ओ हो, पशुपतिनाथको देशबाट आउनु भएको रहेछ’ भन्दै बाजपेयीले तुलाधरसँग हात मिलाए। आत्मीयता दर्शाउँदै तुलाधरसँग भने, ‘पशुपतिनाथको देशमा आउन फेरि मलाई इच्छा छ। चुनावपछि मिलाएर आउँछु।’
तुलाधरको सम्झनामा, बाजपेयीको भनाइबाट के बुझिन्थ्यो भने, त्यसअगावै उनी एकपटक नेपाल आइसकेका थिए। तुलाधरले सम्झे, ‘बिस्तृत रुपमा त बताउनु भएन, तर सामान्य व्यक्तिका रुपमा उहाँ त्यस पहिल्यै नेपाल आइसक्नु भएको रहेछ।’
विभिन्न पार्टी मिलेर बनेको ‘जनता पार्टी’ ले सन् १९७७ को चुनावमा इन्दिरा गान्धी नेतृत्वको कांग्रेसलाई पराजित गरेको थियो। त्यो चुनावमा विजेता जनता पार्टीको तर्फबाट मोरारजी देसाईं प्रधानमन्त्री बने, बाजपेयी विदेशमन्त्री।
तर जनता पार्टीको झण्डामुनिको त्यो एकता लामो समय टिकेन। पार्टी विभिन्न टुक्रामा विभाजित भयो। त्यो विभाजनपछि बाजपेयी, लालकृण आडवाणी लगायतका नेताहरुले भारतीय जनता पार्टी गठन गरे।
स्वतन्त्रतापछिको भारतमा देसाईंपछिका दोस्रो गैरकांग्रेसी प्रधानमन्त्री थिए, चौधरी चरणसिँह। खासमा उनकै कारण जनता पार्टीमा विभाजन आएको थियो। र, सन् १९८० को चुनावमा जनता पार्टीका पूर्व घटकहरु विभाजित रुपमा निर्वाचन लडेका थिए।
कम्युनिष्ट राजनीतिमा संलग्न तुलाधरले त्यो चुनावलाई दिल्लीमै रहेर नजिकबाट नियालेका थिए। एकाधपटक उनी बाजपेयीको सभामा भाषण सुन्नपनि गएका थिए। कवि हृदयका बाजपेयीको भाषण कला मन्त्रमुग्ध पार्ने खालको थियो। भाषणमा उनी शायरीहरु पनि प्रयोग गर्थे।
सन् १९७७ को निर्वाचनमा इन्दिरा नेतृत्वको कांग्रेस (आई) लाई हराउने जनता पार्टीको विभाजनमा भूमिका खेलेका चौधरी चरणसिँह प्रति बाजपेयीमा तीब्र आक्रोस थियो। तुलाधरपनि स्रोता रहेको एउटा सभामा बाजपेयीले सुनाएको एउटा कविता अहिलेपनि तुलाधरको स्मृतिमा छँदैछः
हमने तो एक चिराग जलाए थे रोशनी के लिए
लेकिन इन्हो ने तो जला दिया अपना ही घर
बाजपेयीको यो कवितात्मक पंक्तिको भाव थियो, हामीले कांग्रेसको अत्याचारबाट मुक्त हुन जनता पार्टी बनाएका थियौँ, तर चौधरी चरण सिंहले जनता पार्टी नै विभाजन गरेर आफ्नो घर जलाउने काम गरे।
त्यो निर्वाचनमा गान्धी नेतृत्वको कांग्रेसले अपूर्व विजय हासिल गर्यो। जनता पार्टीका पूर्व घटकहरुको देशव्यापी रुपमा शर्मनाक पराजय भयो। दिल्लीका ७ मध्ये ६ निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भयो। भाजपाले जम्मा २ सिटमा विजय हासिल गर्यो। भाजपाका दुई विजेतामध्ये एक अटल बिहारी बाजपेयी थिए।
जनता पार्टीमा विभाजन आएकाले निर्वाचनमा कांग्रेसले विजय हासिल गर्छ र आफ्नो पार्टीले शर्मनाक पराजय भोग्नेछ भन्नेमा बाजपेयी स्पष्ट रहेको तुलाधर बताउँछन्। उनले सम्झे, ‘‘उहाँ रिल्याक्स मुडमा हुनुहुन्थ्यो, जितिन्न भन्ने प्रष्ट भएपछि किन तनाव लिनु भन्ने परेको होला सायद।’
बाजपेयीले पहिलो पटक सरकारको अनुभव लिँदा विदेश मन्त्रीको रुपमा लिएका थिए। संयोगवश त्यो निर्वाचनमा बाजपेयीलाई भेटेका तुलाधरपनि झलनाथ खनाल प्रधानमन्त्री हुँदा खनालको विदेश मामिला सल्लाहकार भए।
सुरुदेखि नै विदेश मामिलामा रुचि राख्दै आएका तुलाधरको भनाइमा, बाजपेयीले तीन पटक प्रधानमन्त्री हुँदा नेपाल–भारत सम्बन्धमा ‘माइलस्टोन’ मान्न सकिने कुनै काम त गरेनन्। तर, उनको कार्यकालमा नेपाललाई हानी हुने कामपनि भएन।
‘प्रधानमन्त्रीका रुपमा उहाँका अघिल्ला कार्यकाल निकै छोटा थिए, पहिलो कार्यकाल १३ दिनको र दोस्रो कार्यकाल १३ महिनाको भयो’, तुलाधरले भने, ‘तेस्रो कार्यकाल उहाँले पूरा अवधि बिताउनु भयो, उहाँको कार्यकालमा नेपाललाई हानी हुने कुनै काम भएन।’
हुन त, हिन्दुत्वमा विश्वास राख्ने भाजपासँग उतिबेला नेपालमा शक्तिमा रहेको राज दरबारको निकट सम्बन्ध रहेको मानिन्थ्यो। तर, बाजपेयीमा चाहिँ भाजपाका अन्य नेताजस्तो ‘राजामोह’ नभएको तुलाधर बताउँछन्।
‘सायद यही कारण नेपालप्रति उहाँको सद्भाव हुँदाहुँदै आफ्नो प्रधानमन्त्रीत्वकालमा नेपाल भ्रमणमा पनि आउनु भएन’, तुलाधरले थपे, ‘नेपालसँगको सम्बन्धमा उहाँको सबैभन्दा राम्रो पक्ष के हो भने कांग्रेसको सरकार छँदा नेपालउपर गरिएका व्यवहारका कारण भारत–नेपाल सम्बन्ध सुमधुर हुन नसकेको हो भन्ने कुरामा उहाँको प्रष्ट मान्यता थियो।’
२०३७ (सन् १९८०) मा तुलाधरसँग ‘पशुपतिनाथको मुलुकमा फेरि जाने इच्छा छ’ भनेका बाजपेयीलाई नेपाल आउने संयोग भने २१ बर्षपछि २०५८ मा काठमाडौँमा ११ औँ सार्क शिखर सम्मेलन हुँदामात्र मिल्यो। सरकार प्रमुखको रुपमा त्यो सम्मेलनका लागि काठमाडौँ आएका थिए उनी।
कारगिल युद्धका कारण त्यो बेला भारत–पाकिस्तानबीचको सम्बन्ध तनावग्रस्त थियो। तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफलाई सम्मेलनमा भाग लिन आउने गरी भारतले हवाई मार्ग समेत दिएन, त्यसैले मुसर्रफ चीनको हवाई मार्ग प्रयोग गरेर काठमाडौँ आइपुगे।
भारत–पाकिस्तानबीचको तीतो सम्बन्धका कारण सार्कको काठमाडौँ शिखर सम्मेलन विना उपलब्धि समाप्त हुने हो कि भन्ने भय सर्वत्र थियो। सम्मेलन उद्घाटन समारोहमा मित्रताको हात अघि बढाएका मुसर्रफसँग हात मिलाउन बाजपेयी हिच्किचाएपछि त्यो आशंका अरु बढ्यो।
तर बाजपेयी नै थिए, जसले पाकिस्तानसँगको सम्बन्ध सुधार गर्न काठमाडौँमा सम्पन्न त्यो सम्मेलनलाई भरपुर प्रयोग गरे। बाजपेयी–मुसर्रफबीच सम्मेलनकै साइडलाइनमा गुप्तवार्ताहरु भए, जसका कारण भारत–पाकिस्तान सम्बन्ध बिस्तारै ‘ट्रयाक’ मा आउन थाल्यो।
परिणाम, भारत–पाकिस्तानबीच वार्ता सुरु भयो र सम्बन्ध विस्तारै सामान्य हुन थाल्यो। दिल्ली–लाहोरबीच बस र रेल सेवा सञ्चालन गरिए। तुलाधर भन्छन्, ‘विदेश सम्बन्धमा बाजपेयीको योगदान भारत–पाकिस्तानबीचको सम्बन्धलाई सुधार गर्नु हो, त्यसका लागि उहाँले काठमाडौँलाई प्रस्थानविन्दू बनाउनुभयो।’
तुलाधरले भनेजस्तै, बाजपेयीले आफ्नो प्रधानमन्त्रीत्वकालमा नेपाल–भारत सम्बन्धमा कोशेढुङ्गा सावित हुने कुनै काम गर्न सकेनन्, तर नेपालको अहित हुने कामपनि कम्तिमा उनको कार्यकालमा गरेनन्। नेपालसँग भारतीय सत्तासीनहरुबाट सम्मानजनक व्यवहारको खडेरी परेका बेला कम्तिमा बाजपेयीले नेपालप्रति सहृदयता नै देखाए।