मकवानपुर मिसेसको ताज मेलिनालाई
गुगलपाटी संवाददाता हेटौंडा, ३ भदौ
हेटौंडामा संचालित मिसेस मकवानपुर २०१८ का १३ प्रतिष्पर्धीलाई पछी पार्दै मेलिना राना मगरले उपाधी जितेकी छिन् । प्रतियोगिताको फाईनलमा ‘असल महिला नै असल अभिभावक हो’ यो भनाईलाई तपाई कसरी लिनुहुन्छ ? भन्ने निर्णायकको मुख्य प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधी हात पारेकी हुन् ।मकवानपुरको उपाधीसँगै २४ बर्षिया उनले नगद २५ हजार र उपहार पाईन् ।
उनले कक्षा १२ सम्मको शिक्षा लिएकी छिन् । २०५९ मा तत्कालिन माओवादीको आक्रमणबाट बाबु गुमाएकी उनी हेटौंडामा बस्छिन् । ‘महिला असल हुनु भनेको घर परिवार सबै असल हुनु हो,’ उनले प्रश्नको उत्तर दिदै भनिन् ‘महिलाले नै आफ्नो बालबालिकासँग धेरै समय बिताउँछिन् र जन्मदेखि बोली फुट्ने अवस्थासम्म धेरै कुरा सिकाई सकेकी हुन्छिन् ।’
प्रतियोगितामा फस्ट रनरअप घोषित हुँदै रमिला श्रेष्ठले नगद १५ हजार र उपहार पाईन् । उनले मिसेस हेल्दी हेयरको उपाधी पनि जितिन् । त्यस्तै सेकेण्ड रनरअप मनसा घिमिरेले नगद दश हजार, उपहारसँगै मिसेस पफर्मेन्सको उपाधी पनि पाईन् ।मिसेस मकवानपुरकी विजेता र फस्ट रनरअप र सेकेण्ड रनरअपलाई गतबर्ष आयोजित मिसेस तीजकी विजेता सजिता केशी, फस्ट रनरअप श्रृष्टी गोर्खाली र सेकेण्ड रनरअप भावना घलानले क्राउन लगाई दिएका थिए । गतबर्ष मिसेस तीज प्रतियोगिता आयोजना गरेको हेटौंडा लेडी जेसीजले यसबर्षदेखि मिसेस मकवानपुर प्रतियोगिता आयोजना गरेको हो ।
खासगरी १३ टाईटल उपाधी प्रदान गरिएको प्रतियोगितामा चन्द्रकला बास्कोटाले मिसेस ट्यालेन्ट, कविता आचार्यले मिसेस पर्सनालिटी, संगीता परियारले मिसेस स्कीन, दुर्गा ठकुरीले मिसेस क्याटवाक, उर्मिला घिमिरेले मिसेस बेस्ट स्माईल, नीता श्रेष्ठले मिसेस फ्रेन्ड्ली, लक्ष्मी नेपालले मिसेस फोटोजेनिक, सपना थापा मगरले मिसेस पङ्चुआलिटी, मञ्जु लामा बिष्टले मिसेस डिसिप्लिन र सविता थापा मगरले मिसेस बेस्ट डान्सको उपाधी जित्न सफल भए ।मकवानपुरमा बसोबास गर्ने गृहणी महिलालाई नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर गराउदै उनीहरुमा भएको प्रतिभालाई प्रष्फुटन गराउने उदेश्यले प्रतियोगिता गरिएको हेटौडा लेडी जेसिजकी अध्यक्ष अस्मिता श्रेष्ठले बताईन् ।