पिउन उपयुक्त नभएका हेटौंडाका पानीको उत्पादन र बिक्री बन्द
गुगलपाटी संवाददाता हेटौंडा,३ भदौमकवानपुरको हेटौंडामा रहेका पिउनका लागि उपयुक्त नभएका तीनवटा वेभरेजमा प्रशासनले उत्पादन र बिक्री बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको मकवानपुर वेभरेजको उत्पादन माई च्वाइस् , शुभम् वेभरेजको उत्पादन आक्वा टाइम र नेचुरल वेभरेजको अमृत जल पिउनका लागि अयोग्य रहेको भन्दै उत्पादन र बिक्री बन्द गरेको हो ।
पटकरपटकको अनुगमनका क्रममा अनुसन्धानका लागि नमुना संकलन गरेको खाद्य अनुसान्धान तथा गुण नियन्त्रण कार्यालयले गरेको परिक्षणका आधारमा जिल्लामा रहेका तीन वेभरेजको उत्पादन मानव जीवनमा प्रयोगका लागि अनुपयुक्त भएकाले उत्पादन र बिक्री बन्द गरिएको कार्यालयका प्रमुख राजकुमार रिजालले बताए । अनुगमन टोलीले गत साउन १७ गते तीनवटै वेभरेजबाट पानीको नमुना संकलन गरी ल्याव परिक्षणका लागि लगेको थियो । खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयले गरेको परिक्षणपछि पानीमा कोलिफर्म, पिएच र इस एण्ड मोल्ड नामक शुक्ष्म जिवाणु पाइएपछि प्रशासनले पानी उत्पादन बन्द गर्न निर्देशन दिएसँगै अनुगमन टोलीले आइतबार तीनवटै पानी उत्पादक कम्पनीको उत्पादनमा रोक लगाएको उनले बताए ।
उपभोक्ताको गुनासोपछि अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च र खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयको टोलीले संयुक्त अनुगमन गरेको थियो । खाद्य नियमावली २०२७, ८ ‘ग’ अनुसार अब तिनवटैको उत्पादन बन्द गरिएको भन्दै नियमित गुणस्तरको ग्यारेण्टी नभएसम्म उत्पादन र बिक्री बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।