मनहरी गाउँपालिकाः जहाँ सुत्केरीले पाउँछन् ६५ सय बराबरको सुविधा
गुगलपाटी संवाददाता मनहरी,३ भदौदेशका विभिन्न जिल्लामा रहेका स्थानीय तहहरुले लगाएको करको बिषयमा चर्का आलोचना भइरहँदा मकवानपुरको मनहरी गाउँपालिकाले भने गर्भवतीको स्वास्थ्य सुधारमा लगानी गरेको पाइएको छ ।
नेपाल सरकारले उपलब्ध गराउने सुविधाहरुसँगै मनहरी गाउँपालिकाले समेत थप्दा कूल ६ हजार ५ सय रुपियाँ बराबरको सुविधा सुत्केरीले पाउँछन् । त्यसका लागि सरकारी मापदण्ड भने पूरा गर्नुपर्नेछ । मनहरी गाउँपालिकाले जनाए अनुसार गाउँपालिकाभित्र बसोबास गर्ने गर्भवतीको गर्भजाँचदेखि सुत्केरी भइसक्दा ६ हजार ५ सय रुपियाँ बराबरको नगद र जिन्सी सहयोग सामग्रीहरु पाइनेछ । गाउँपालिकाले उपलब्ध गराएको सूचना अनुसार नेपाल सरकारले तोके अनुसार सरकारी स्वास्थ्य संस्थामा नियमित रुपमा ४ पटक गर्भजाँच गराएमा गर्भवतीलाई ८ सय रुपियाँ नगद प्रदान गर्छ । त्यसैगरी प्रसुति यात्राखर्च भनेर नेपाल सरकारले २ हजार रुपियाँ पनि नगद प्रदान गर्छ । ९ सय रुपियाँ बराबरको न्यानो झोला र ८ सय रुपियाँ बराबरको शिशुहरुको कपडा सेट समेत नेपाल सरकारले ब्यहोर्दै आएको छ ।
नेपाल सरकारले ब्यहोर्ने सुविधाहरुबाहेक मनहरी गाउँपालिकाले गत आर्थिक बर्षदेखि नै केही सुविधाहरु थप गरेको थियो । चालू आर्थिक बर्षमा अझै सेवाहरु थप गरेर गर्भवती र शिशुको स्वास्थ्यप्रति स्थानीय सरकारले प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । गाउँपालिका अध्यक्ष उप्रेतीका अनुसार थपिएका सुविधाहरुमा स्थानीय मनहरी प्राथमिक स्वास्थ्य केन्द्र, हेटौँडा अस्पताल र हाँडीखोला स्वास्थ्य चौकीमा सुत्केरी गराउन लैजाँदा लाग्ने एक हजार रुपियाँ बराबरको एम्बुलेन्स खर्च गाउँपालिकाले ब्यहोर्नेछ । त्यसैगरी गर्भजाँच गर्न आउँदा ७ सय रुपियाँ बराबरको गर्भवती पोषण प्याकेट र सुत्केरी भइसकेपछि एक हजार रुपियाँ बराबरको पोषण प्याकेट उपलब्ध गराउने गरी बजेट बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् । यसका लागि सरकारी स्वास्थ्य संस्थामा नै गर्भजाँच र सुत्केरी गराउनुपर्नेछ ।
त्यसैगरी मनहरी गाउँपालिको मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र हाँडीखोला स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्भवतीका आफन्तलाई बस्न, सुत्न र भात पकाएर खुवाउनका लागि आबश्यक व्यवस्था मिलाएको छ । गाउँपालिकाको सहयोगमा ग्याँस, भाँडाकुँडा र ओढ्ने ओछ्याउने समेत व्यवस्था गरिएको मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताए । अधिकारीका अनुसार बार्षिक ६५० जना सुत्केरीले यो सुविधा प्राप्त गर्नेगरी बजेट बिनियोजन गरिएको छ ।