शिवमको आइपीओको बेहाल
गुगलपाटी संवाददाता काठमाडौं शिवम सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा अत्यन्त न्यून आवेदन परेको छ ।
आइपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साउन १३ गतेदेखि निश्कासन भएको आइपीओमा २० दिनको अवधिमा(भदौ ३ गतेसम्ममा) २ सय ३४ वटा मात्र आवेदन परेका छन् ।
कुल ३३ हजार ६ सय ४० कित्ताका लागि १ करोड ९२ हजार रुपैयाँ बराबरको मात्र आवेदन परेको छ । कुल निश्कासित कित्तामध्ये आवेदन खुलेको २० दिनको अवधिमा ३.८२ प्रतिशत कित्ता मात्र बिक्री भएको देखिएको हो ।
शिवम्ले साउन १३ गतेदेखि आयोजना प्रभावित मकवानपुर जिल्लाबासीका लागि प्रिमियम मूल्यमा आइपीओ निश्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।
आइपीओ खरीदका लागि भदौ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक आयोजना प्रभावितले सीआस्वामार्फत वा तोकिएका संकलन केन्द्रमा सोझै गएर समेत आइपीओ खरीदका लागि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । शिवमले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि समेत आइपीओ निश्कासन गर्ने भएकोले मकवानपुरका बासिन्दाले सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा भने आवेदन दिन पाउने छैनन् ।
शिवमले दोश्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित प्रतिकित्ता ४४ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कम्पनीले कुल ५२ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।
इक्रा नेपालले शिवमको आइपीओलाई ग्रेड थ्रीको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत रहेको भन्ने बुझिन्छ ।
शिवम् सिमेन्ट लिमीटेडले गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९३ करोड ६६ लाख खूद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीको नाफा ८१ करोड ११ लाखमा सीमित थियो । तेश्रो त्रैमासमा कम्पनीको संचालन तथा बिक्रीबाट हुने आम्दानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको हाल चुक्तापूँजी ३ अर्ब ८७ करोड, रिजर्ब २ अर्ब १६ करोड, वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९१ रुपैयाँ रहेको छ । आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोडको उचाईमा पुग्नेछ ।
साभारः बिजशाला अनलाइनबाट