चुक्यो चुरियामाइ टेक्निकल कलेज,बन्द गराउन प्रशासनको निर्देशन
गुगलपाटी संवाददाता हेटौंडा,४ भदौहेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै चुरियामाई टेक्निकल कलेज बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।
कलेज पूर्ण रुपमा अबैध रुपमा संचालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुगलपाटीलाई बताए । नेपाल सरकारबाट मान्यता प्राप्त उल्लेख गरेका होर्डिङ्गबोर्ड हेटौंडा बजारको विभिन्न स्थानमा राखेर अबैध रुपमा सिटीईभिटीको पाठ्यक्रमको औद्योगिक क्षेत्रकालागि हाउस वायरिङ्ग, इण्डष्ट्रियल वाईरिङ्ग कक्षाहरु अबैध रुपमा सञ्चालन गरिरहेको पुष्टी भएपछि बन्द गरिएको हो ।
कलेज कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको नाम मात्र दर्ता गरेको छ । यस बाहेक कलेजले सिटिभिटी वा नेपाल सरकारका शैक्षिक संस्था अनुमति दिने निकायबाट अनुमती लिएर मात्रै कक्षा सञ्चानल गर्नुपर्ने नियम छ । तर सम्बन्धित निकायबाट लिनुपर्ने स्वीकृति तथा सम्बन्धन केही नलिई कक्षा सञ्चालन गरेपछि २ सय ३५ विद्यार्थी अन्योलमा परेका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने आफूकहाँ कुनै बिद्यार्थी र अभिभावक समेत उजुरी गर्न नआएका कारण बिद्यार्थीहरुको बिषयमा आफुले केही गर्न नसक्ने बताए ।
कलेज मुख्य दर्ता हुनु पर्ने स्थान प्राइभेट शिक्षा परिषद(सिइटीभिटी)मा दर्ता नभएका कारण प्रशासनले बन्द गराएको हो तर कलेजका प्रिन्सिपल विकास झाले भने अनुमति लिने प्रकृयामा रहेको बताउदै आएका थिए । प्रति विद्यार्थी ४५ देखि ६० हजार सम्म शुल्क लिएर कक्षा सञ्चालन गरिरहेको सो कलेजमा ४० जना छात्रा र १ सय ९५ जना छात्र गरी २ सय ३५ जना विद्यार्थीहरुबाट करीब १ करोड ४० लाख शुल्क कलेजले लिएको छ ।