नारायणघाट मुग्लिनको जामःकहिले सकिएला काम ?
गुगलपाटी संवाददाता चितवननारायणगढ–मुग्लिन सडकखण्डको सडक निर्माण कार्य फेरि लम्बिने भएको छ । सडक सम्पन्न गर्ने मिति पूनः तीन महिना थपिएपछि निर्माण हुन समय लाग्ने भएको हो ।विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको छ ।सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात बढी भएका कारण मिति थप गरिँदै आएको थियो । २०७४ साल शुरु भएयताको दुईपटकको निर्वाचनको समयमा काम गर्न नपाएको, बर्सातको समय, चाडपर्वको समय र थपिएको काम समेतलाई मिलाएर मिति थप गरिएको खनालले बताए ।यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो । स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको हो । हालसम्म उक्त आयोजनाका ८२ प्रतिशत काम भएको छ । आयोजनाका इन्जिनियर खनालका अनुसार ३३.२ किलोमिटरमध्ये २४.५ किलोमिटर सडक कालोपत्र भएको छ ।