आजको स्थानीय पत्रपत्रिकाः तरकारीमा बिचौलियाको बिगबिगी, हेटौंडा कपडा उद्योग चलाउन २० करोड लाग्ने

गुगलपाटी संवाददाता
५ भाद्र २०७५ ०१:५१

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले ३ नम्बर प्रदेशको लागि राजधानी प्रस्ताव गरिएका ५ जिल्लाका विशेषताको बारेमा प्रमुख समाचार बनाएर छापेको छ ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले मकवानपुर, भक्तपुर, काभ्रे, नुवाकोट र चितवनमध्ये एक स्थानलाई राजधानी बनाउन सकिने भनेर प्रतिवेदन तयार गरेको छ । तर, गठित समिति नै अवैधानिक भन्दै अदालतमा मुद्दा परेपछि प्रतिवेदनबारे प्रदेशसभामा छलफल हुन सकेको छैन ।

दुई दशकदेखि बन्द रहेको कपडा उद्योग पुनः सञ्चालनको चर्चा चलेसँगै थप २० करोड लगानी गर्नुपर्ने एक अध्ययन समितिको निष्कर्षसम्बन्धी प्रसङ्गलाई पनि साझाकुरा दैनिकले प्राथमिकताको साथ छापेको छ । उद्योग मन्त्रालयका सहसचिव शत्रुधनप्रसाद पुडासैनी नेतृत्वको अध्ययन टोलीले ६ महिनाभित्र उद्योग पुनः सचालनमा ल्याउन सकिने प्रतिवेदन तयार गरेको छ । ३ वर्षभित्र व्यवसायिक उत्पादन गर्न सकिने पनि निष्कर्ष छ । उद्योगको ५० प्रतिशत मेसिन अझै काम लाग्ने अवस्थामा छन् ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले बिचौलियाको कारण तरकारीको मूल्य निकै महङ्गो परेको प्रसङ्गलाई प्रमुख समाचार बनाएको छ । मकवानपुरको टिष्टुङबाट ५ रुपियाँमा बेचेको तरकारी काठमाडौंमा ५० रुपियाँसम्म तिरेर किन्नुपर्ने बाध्यता बनेको छ । किसानसँग कम मूल्यमा लिएर बिचौलियाले धेरै नाफा राखेर उपभोक्तालाई बेच्ने गरेका छन् । काठमाडौंमा पत्रकारिता गरिरहेका रामजी बलामीले टिष्टुङमा ५ रुपियाँमा बेचेको खुर्सानी काठमाडौंमा ५० रुपियाँमा किनेर खानुपरेको प्रङ्ग फेसबुकमा लेखेका छन् । यही विषयलाई लिड बनाउदै सन्देशले समाचार बिस्तार गरेको छ ।

त्यसैगरी आजको समृद्ध समाज दैनिकले स्थानीय तहमा खेलकुदका लागि करिब साढे दुई करोड छुट्याइएको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । मकवानपुरका १० वटा स्थानीय तहले चालु आवमा खेलकुदका क्षेत्रमा दुई करोड ४९ लाख रुपियाँ छुट्याएको छ । हेटौंडा उपमहानगरले त एक वडा एक खेल मैदान , बाल उद्यान, जिम क्लव र एक योगा केन्द्रको अवधारणा ल्याएको छ ।

हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ