पर्यटनमा बजेट एक अर्ब, खर्च गर्ने निकाय शुन्य

गुगलपाटी संवाददाता हेटौंडा
६ भाद्र २०७५ ०२:१४

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको दश सम्पदामध्ये आठ सम्पदा रहेको प्रदेश तीनमा पर्यटन प्रवधर्नको काम गर्न समस्या भएको छ ।

तीन नम्बर प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको लागि पर्यटन क्षेत्रमा करिब एक अर्ब रुपैयाँ रकम छुट्याएपनि पर्यटन हेर्नगरी मन्त्रालयमा कुनै शाखा र कर्मचारी नहुँदा अन्यौलता भएको हो ।

हाल योजना,उद्योग,पर्यटन तथा प्रशासन महाशाखामार्फत मन्त्रालयले पर्यटन सम्बन्धि काम हेर्दै आएको छ । तर संघीय सरकारको पर्यटन मन्त्रालयले पर्यटन हेर्नेगरी कर्मचारी नदिए दिन नसक्ने भएपछि प्रदेशको काम अघि बढाउन समस्या भएको मन्त्रालयका सचिव शिव काफ्लेले बताए ।
पर्यटन सम्बन्धि काम गर्न मन्त्रालयले पर्यटन विकास आयोजना गठन गरी काम अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रस्ताव गरेको उनले जानकारी दिए ।

मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा करिब एक तिहाई बजेट पर्यटन क्षेत्रमा छुट्याएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको कुल बजेट तीन अर्ब ६३ करोड रहेको छ ।
मन्त्रालयले प्रदेशभित्र दश वटा हिल स्टेशन निर्माण गरी पर्यटन क्षेत्र विकास गर्न बजेट छुट्याएको छ । साथै गोन्जाला पास सञ्चालन र गौरीशंकर, लाङटाङ, जुगल र गणेश हिमालमा पर्यटन प्रवर्धन, पदमार्ग र भ्यूटावर निर्माणको कामलाई मन्त्रालयले विषेश प्राथमिकता दिएको सचिव काफ्लेले बताए ।

आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।